काठमाडौं : हिमालको आधारशिविरसम्म आरोहण दललाई आवश्यक सामग्री बोकेर जाने भरिया आपतकालीन उद्धारको कानुनी व्यवस्था नहुँदा बिचल्लीमा पर्ने गरेका छन्। आरोही, गाइड, बेसक्याम्प मेनेजर र सहयोगीलाई अनिवार्य हेलिकोप्टर उद्धारको व्यवस्था गरे पनि भरियाले त्यस्तो सुविधा नपाउँदा अकालमै जीवन गुमाउनुपर्ने स्थिति आउनु सामान्य भइसकेको छ।
हिमालसम्बन्धी कानुन पर्यटन ऐन २०३५ र पर्वतारोहणसम्बन्धी नियमावली २०५९ ले भरियाका लागि आपतकालीन हेलिकोप्टर उद्धारको व्यवस्था गरेको छैन। ५ हजार मिटर उचाइमा भारी बोकेर पुग्दा हाई अल्टिच्युड लाग्ने, तत्काल शारीरिक समस्या देखिँदा उद्धार नहुने गरेको सोरा ट्रेक एन्ड एक्सपिडिसनका प्रमुख निमा शेर्पाले बताए। उनले अन्य व्यक्तिसरह उद्धारका लागि कानुनी रूपमै अनिवार्य व्यवस्था गरे भरियाको जीवन सुरक्षित हुने बताए। आरोहणदलका सदस्यका लागि भने नियमावलीले १० हजार अमेरिकी डलर बराबरको रेस्क्यु बिमा अनिवार्य तोकेको छ।
एजेन्सीले भने भरियालाई यकिन गर्न समस्या हुने र ठाउँअनुसार विशेष काम लगाउनुपर्ने भएकाले रेस्क्युका लागि कठिन भएको बताएको छ। नाम उल्लेख नगरी इन्सुरेन्स कम्पनीले बिमा शुल्क लिन नमान्दा भरियाको बिमा गर्न समस्या भएको बोचीबोची ट्रेकका सञ्चालक टीकाराम गुरुङले बताए। ‘फिल्डमा भरिया खोज्नुपर्छ। त्यसैले उनीहरूको उद्धार रेस्क्यु कभर नभएको हो,’ उनले भने।
सगरमाथा आधारशिविरमा भारी बोकेर पुगेका छेस्काम-३ सोलुखुम्बुका जयकुमार कुलुङले हिमाली भरियाका लागि कानुनी मापदण्ड प्रशस्त बने पनि अनुगमन नहुँदा ठगिएको बताए। भारीको तौल, सेवा-सुविधादेखि बिमामा समेत एजेन्टले ठग्ने गरेको उनको आरोप छ। नियमावलीले ५ हजार मिटरसम्म उक्लने कामदारलाई अनिवार्य जीवन बिमा गरेर ३० किलोग्रामसम्म मात्र भारी बोकाउनुपर्ने व्यवस्था छ। मौसमअनुसार लत्ताकपडा, जुत्तालगायत सामग्री दिनुपर्ने व्यवस्था भए पनि कम्पनीले ठग्ने गरेको पाइएको हो। भरियाका लागि ५ लाख दुर्घटना र ५० हजार औषधि उपचार बिमा नियमावलीले तोकेको छ तर यसो नगरी काममा लगाएको पाइएको छ।
९० प्रतिशतभन्दा बढी कम्पनीले भरियाको बिमा गराउँदैनन्। प्राउड ट्रेकिङ कम्पनीबाट ४५ किलो भारी सगरमाथा आधारशिविरसम्म पुर्याएको जयकुमार कुलुङको भनाइ छ। हिमाली क्षेत्रमा काम गरेको ११ वर्ष बिते पनि जीवन बिमा, औषधोपचार बिमा र हेलिकोप्टर उद्धार बिमाबारे अनभिज्ञ रहेको उनले बताए। यता, सरकारी प्रतिनिधिका रूपमा खटाइएका सम्पर्क अधिकृतसँग आफूलाई परेको समस्याबारे जानकारी गराउँदा कुनै प्रतिक्रिया नदिने गरेको भरियाको आरोप छ। हिमाली भरियालाई होटलमा बास नदिने, दैनिक ज्याला तोकिएभन्दा कम दिने, तोकिएअनुसार लत्ताकपडालगायत सामग्री नदिनेजस्ता समस्या प्रशस्तै छ।
सस्तोमा कामदार लगाएर लाखौं कुम्ल्याउनेलाई नियमन गरी कारबाही गर्नुपर्ने बताउँछन् सोलुखुम्बु बुङका भरिया ज्ञानु बस्नेत। पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले पर्वतारोहण नियमावली संशोधन प्रक्रियामा रहेको र भरियाको सुरक्षाका लागि उद्धार व्यवस्था कानुनी रूपमै गरिन लागेको बताए। पर्वतारोहण खर्चिलो भएको गुनासो पर्यटकबाट आएकाले यसलाई थप व्यावहारिक बनाएर लाने र भरियाको सेवा-सुविधा समेट्ने उनको भनाइ छ। पर्वतारोहण नियमावलीले हिमालमा जाने कामदारका लागि तोकेको एक जोर जुत्ता, एउटा ओढ्ने कपडा वा ज्याकेट, ट्राउजर, कमिज, स्विटर, पन्जालगायत कपडा अनिवार्य गर्नुपर्ने, नगरे अनुगमन गरी कारबाही गर्ने विभागले जनायो।