
– मनोज पौडेल
भिक्षु मैत्तेय, ३१, शान्ति, करुणा र भ्रातृत्वको कुरा गर्दा धेरै पाका लाग्छन् । मधेसी ब्राह्मण परिवारमा लुम्बिनीमा जन्मिएका अवधेश त्रिपाठीलाई जीवनमा सबैभन्दा कठिन समय बन्यो, भिक्षु बन्न अभिभावकबाट स्वीकृति लिन । उनले आफ्ना अभिभावकलाई मनाउन तीन वर्ष लाग्यो । एक दशकअघि भिक्षु जीवनमा प्रवेश गरेका भिक्षु मैत्तेयले अहिले दक्षिण अमेरिकी मुलुक कोस्टारिकामा एलेग्रिया सेन्टर (नेपाली नाम आनन्द विहार) सञ्चालन गरेका छन् । अमेरिका, जर्मनी र क्यानाडाका विश्वविद्यालयमा अतिथि प्रोफेसरका रूपमा बुद्ध दर्शन पढाउँदै आएका उनीसँग गरिएको कुराकानी :
लुम्बिनीबाट एकैपटक कोस्टारिका किन पुग्नुभयो ?
म लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारमा जन्मेको हुँ । हिन्दु परिवारभित्रको भए पनि मैले बौद्घ दर्शनलाई नजिकबाट देख्ने, सुन्ने र बुझ्ने मौका पाएको थिएँ । भिक्षु भएपछि ध्यान र पाठ मात्र होइन, अरू पनि केही गर्नुपर्छ भन्ने मलाई लाग्यो । लुम्बिनीमा बोधी इन्स्टिच्युटमार्फत दुई विद्यालय र एक महिला विद्यालय सञ्चालन गरे । तर पनि यो दर्शनबाट म यति प्रभावित भएँ कि यसलाई विश्वव्यापी बनाउनुपर्छ भन्ने मलाई लाग्यो । यसैले म कोस्टारिका पुगेँ । विहार पनि सञ्चालनमा आयो ।
कोस्टारिका नै किन रोज्नुभयो ?
सुरुदेखि नै विदेशमा पनि नेपालको विहार होस् भन्ने चाहना थियो । अर्को कुरा, गौतम बुद्ध नेपालमा जन्मेका हुन् र उनको शान्तिरूपी शिक्षामै सुखद भविष्य छ भन्ने सन्देश दिन विदेशमा नेपाली विहार स्थापना गरेको हुँ ।
विहार नै किन ?
भारत र चीनले बुद्धिज्म हाम्रो हो भनिरहेका छन् । तर, हाम्रो विहारमा हामी बुद्धिज्म नेपालको हो भनेर तर्कसहित ज्ञान दिन्छौँ । कोस्टारिकाको विहार पुग्नेहरू शान्तिप्रेमी पर्यटक नेपाल कस्तो रहेछ भनेर आउन लालायित हुन्छन् ।
निकै परको मुलुकमा विहार सञ्चालन गर्ने संयोग कसरी जुर्यो ?
चाहना त निकै पहिलेदेखि थियो । तर, यो संयोग मेरै धर्मआमा क्यानेडियन नागरिक बोधी गुरुमा लोरी फोस्टरले जुराइदिनु भयो । बोधी गुरुमा क्यानाडा सरकारको वातावरण वैज्ञानिक हुनुहुन्छ । गुरुमामार्फत भेट भएका जर्मन नागरिक फ्रेन्च निरहफले आफ्नो ६० रोपनी जग्गा र त्यसमा बनेका घरहरू नेपाली भिक्षुलाई प्रदान गरेपछि विहार सञ्चालन सम्भव भएको हो ।
ती जर्मन नागरिकले सहयोग गर्नुको कारण के रहेछ ?
१२ वर्ष लुफथान्सा एयरको एयरबस चलाएका ती जर्मन नागरिक बुद्धका अनुयायी पनि हुन् । नेपालमा जन्मिएका बुद्घको दर्शनलाई सर्वव्यापी बनाउनुपर्छ भन्ने सोच रहेछ उनको । विश्वका पर्यटकको घुइँचो लाग्ने कोस्टारिका उपयुक्त थलो हुने भएकाले उनले सहयोग गरेका हुन् ।
तपाईंले सञ्चालन गर्नुभएको विहारले नेपालका सन्दर्भमा के योगदान दिन सक्ला ?
प्रशान्त महासागरसँगै रहेको विहारमा नेपालको पर्यटन प्रवद्र्धन हुने गरी नेपाली बौद्ध कला, संस्कृति र परम्परा कायम राख्छौँ । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिन्छौँ । विहार आउने पर्यटकलाई नेपालसँग नजिकको नाता जोड्छौँ । नाफा कमाउने उद्देश्य छैन । बुद्ध शिक्षा र नेपालको बौद्ध पर्यटन प्रवद्र्धन नै मुख्य उद्देश्य हो ।
source:ekantipur