सोलुखुम्बुको पत्ताले डाँडा आन्तरीक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यस्थलको रुपमा विकास हुदै गईरहेको छ । सोलुखुम्बु र ओखलढुङ्गाको सीमानामा पर्ने पत्ताले डाँडा राजधानी काठमाडौंबाट छोटो दूरीमा रहेको शुन्दर पर्यटकी क्षेत्र रुपमा समेत लिने गरिएको छ । यसको उचाई करीब ३१०० मिटर छ । मनोरम हिमालका दृष्यावलोकनका लागि यो उपयुक्त डाँडा हो । यहाँबाट सगरमाथा, मकालु, कन्चनजङ्गा, लोत्से, नुम्बुर, कार्यालुङ, पुमोरी, थामसेर्कु लगायतका शुन्दर हिमालको हेर्न सकिन्छ ।
राजधानी काठमाडौंबाट छोटो दूरीमा रहेको यो क्षेत्रमा हवाई र सडक दुवै मार्गबाट पुग्न सकिन्छ । सडक मार्गबाट आउन काठमाण्डौंबाट मध्यपहाडी लोकमार्ग धुलीखेल, खुर्कोट, हर्कपुर ओखलढुङा हुँदै पत्ताले गाँऊ पुगिन्छ ।
पत्ताले गाँउबाट करीब ४० मिनेट उकालो हिडेपछि पत्ताले डाँडा पुगिन्छ । हवाईमार्गबाट पनि पत्तालेडाँडा पुग्न सकिन्छ । काठमाडौंबाट प्लेन चढेर करीब ३० मिनेटमा फाप्लु विमानस्थल (सोलुखुम्बु) पुगिन्छ । फाप्लुबाट करीब एक घण्टा सडक यात्रा गरेपछि पत्ताले गाँउ पुगिन्छ ।
शेर्पा, मगर लगायतका जातीको बसोबास रहेको पत्ताले बजारमा शेर्पा लगायतको आफ्नै भाषा, सँस्कृति छ । पत्ताले गाँउ नजिकै चर्चित धार्मिक स्थल चाङ्गेथान पनि छ । यहा जनैपुर्णिमाको दिन ठुलो मेला लाग्ने गर्दछ । आर्थिक हिसावले यो निकै सस्तो पर्यटकीय गन्तव्य पनि हो ।
यसको लागि दुई दिन एक रात समय छुट्याउँदा हुन्छ । हिउ खेल्न र नजिकबाट हिमालहरु हेर्न चाहानेहरु प्राय पत्ताले नै पुग्ने गरेका छन । यसका अतिरिक्त नया बर्ष दशैतिहार लगायतका पर्वहरु र छुट्टी मनाउन जिल्ला भित्रकै र जिल्ला बाहिरबाट पर्यटकहरु आउने गरेका छन् ।