Advertisement


काठमाडौं : एउटै ठाउँबाट ४८ वर्षपछि फोटो कैद गर्दा नाम्चे बजारको पुरानो नक्सा देखिँदैन । पहिलेको तुलनामा अहिले यो ठाउँमा चामत्कारिक विकास भएको छ । पाँच दशक अघिसम्म मानव वस्तीको सुरुवातीजस्तै देखिने यो ठाउँ अहिले विश्वकै सुन्दर पर्यटकीय सहरमा परिणत भएको छ । आलु, मकै र उवाखेतीबाट जीवन गुजारा चलाउने नाम्चेबासीको दैनिकी र जीवनस्तर पनि परिवर्तन भइसकेको छ । परम्परागत खेतीपाती होइन, पर्यटकको सेवा र आधुनिक जीवनशैली उनीहरूको दैनिकी बनेको छ ।

पाँच दशकअघि घुम्न आएका जापानी पर्यटकले कैद गरेको फोटो नियाल्दा नाम्चेको वास्तविक रूप प्रष्ट हुन्छ । उनी पुनः १२ वर्षपछि २०३८ सालमा घुम्न आएको समयमा नाम्चेका होटल व्यवसायी शेरपजङबु शेर्पालाई उपहार स्वरुप फोटो दिएका थिए । त्यो फोटो २०२६ सालमा कैद गरिएको शेरप बताउँछन् । त्यो फोटोमा नाम्चेको असली अनुहार मानव वस्तीको सुरुवाती जस्तै देखिन्छ ।

सोही ठाउँ (हालको हेलिप्याड डाँडा) बाट फरकफरक समयमा खिचिएका तीनवटा फोटाले नाम्चेको विकास क्रमलाई देखाउँछ । त्यो समयमा आलु र मकै मात्र रोपेर गुजारा चलाउने ठाउँमा अहिले विकसित सहर जस्तै सेवा-सुविधा उपभोग गर्न पाइन्छ । २०६१ सालमा पुनः सोही स्थानबाट शेरपजङवु शेर्पाले कैद गरेको फोटोमा नाम्चे बजारमा पछिल्लो समय भएको विकास देखिन्छ । यो तस्बिरमा पुराना घर भत्किदै नयाँ बन्ने क्रम र केही नयाँ, केही पुराना संरचनाले भरिभराउ नाम्चेले काचुली फेर्दै गरेको देखिन्छ ।

सोही स्थानबाट ४८ वर्षपछि अर्थात् २०७४ वैशाख २९ गते कैद गरिएको तस्बिरमा नाम्चे बजारले पूरै काचुली फेरेको देखाउँछ । नाम्चेको पुरानो अस्तित्व केही पनि भेटिँदैन, त्यहाँका स्थानीय बुढापाका समेत नाम्चेको पुरानो रूप सम्झिन मुस्किलपर्ने बताउँछन् । सोलुखुम्बुकै मुटु भनेर चिनिने खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ को नाम्चे बजार सगरमाथा आधार शिविर जाने मुख्य मार्ग पनि हो । सुविधा उपभोग गर्न पाउने भएपछि विदेशी पर्यटक र आरोहीसमेत नाम्चेमा रमाउने गर्छन् । यहाँ अत्यावश्यक सामग्री भरिया, चौंरी, याक, खच्चर र हेलिकोप्टरबाट ढुवानी गरिन्छ । यो देशकै महँगो बजार पनि हो ।

नाम्चेमा लामो समयदेखि होटल सञ्चालन गर्दै आएका पानोरामा लजका प्रबन्ध निर्देशक शेरपजङबु शेर्पा भन्छन्, ‘नाम्चेका युवा पुस्ता पनि विदेशबाट फर्किर होटेलमा लगानी गर्न थालेका छन् । यसबाट यहाँको विकासमा सम्भावना थपिएको छ ।’ नाम्चेमा करिब आठ सय ५० भन्दा बढी घरपरिवार छन् । अहिले विदेशी पर्यटकको सर्वाधिक रोजाईमा नाम्चे पनि परेको छ । त्यसैले हिमाल आरोहण र अवलोकनमा आउने विदेशी पर्यटकको यहाँ भीड नै हुन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित नाम्चेमा पर्यटकीय गतिविधि बढेकै कारण कायपलट भएको हो ।

Source:
छेटु शेर्पा,  Annapurna Post

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय