काठमाडौं : पर्वतारोहणमा संलग्न पथप्रदर्शक (माउन्टेन गाइड)ले सीप परीक्षणमार्फत अधिकृत स्तरको मान्यता पाउन थालेका छन् । उनीहरूलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले सीप परीक्षण गरी मान्यता दिन थालेको हो ।
सीटीईभीटीअन्तर्गतको राष्ट्रिय सीप परीक्षण समितिले पर्वतारोहण पथप्रदर्शकको व्यावसायिक सीप परीक्षण गरी प्रमाणपत्र दिन सुरु गरेको जानकारी दिएको छ । राजपत्रमा उल्लेख भएअनुसार ओभरसियर स्तरको तेस्रो तह राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक र इन्जिनियर स्तरको चौथो तह अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकलाई प्रमाणपत्र दिन थालेको समितिका वरिष्ठ सीप परीक्षण अधिकृत तुलसी केसीले बताए ।
नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघमा ५० जना अन्तर्राष्ट्रिय र १८ राष्ट्रिय गाइड आबद्ध छन् । सीप प्रमाणित गरी प्रमाणपत्र दिँदा तत्काल ६८ जना गाइड लाभान्वित हुनेछन् । सीटीईभीटीले २४ सेक्टरका दुई सय ८५ व्यवसायको सीप प्रमाणित गरी प्रमाणपत्र दिँदै आएको छ । पर्वतारोहण क्षेत्रमा काम गर्ने कामदारको सीपका आधारमा प्रमाणपत्र दिने निर्णय पहिलोपटक भएको केसीले बताए ।
अन्य पेसाभन्दा फरक, जोखिमपूर्ण अनि महँगो भएकाले सुब्बा र अधिकृत स्तरको सीप प्रमाणित गर्ने निर्णय सीटीईभीटीले गरेको हो । सीप परीक्षणले माउन्टेन गाइडको वृत्तिविकास, वैदेशिक रोजगारमा थप मान्यता, काम गर्दा उचित पारि श्रमिक पाउन सहयोग, उद्धारजस्ता कार्यमा सेना, प्रहरी, लोकसेवामा प्रवेश पाउने सम्भावना बढ्नेछ । सरकारी मान्यता प्राप्तिसँगै हिमालमा सम्पर्क अधिकृतका रूपमा खटिएर काम गर्ने अवसरसमेत उनीहरूले पाउनेछन् ।
सीटीईभीटीअन्तर्गत राष्ट्रिय सीप परीक्षण समितिले पर्वतारोहण पथप्रदर्शकको व्यावसायिक सीप परीक्षण गरी प्रमाणपत्र दिन सुरु गरेको छ ।
माउन्टेन गाइडको सीप प्रमाणित गर्नु उनीहरूको कामको सम्मान भएको सीटीईभीटीले जनाएको छ । यसले पेसामै उत्साह थपिएको पर्वतारोही पथप्रदर्शक संघका कार्यवाहक अध्यक्ष सुनारबहादुर गुरुङले बताए । अन्तर्राष्ट्रिय गाइडले २४ देश र राष्ट्रिय गाइडले नेपालभित्र गाइड गर्न पाउँछन् । सीप परीक्षणको व्यवस्थाले विश्वमा गाइडप्रतिको दृष्टिकोणमा सकारात्मक सन्देश जाने अन्तर्राष्ट्रिय गाइड लाक्पा शेर्पाले बताए ।
समितिले सीप परीक्षणका लागि विज्ञसहितको प्राविधिक उपसमिति गठन गरेको छ । संघका अनुसार पहिलो चरणमा १० जनालाई सीप प्रमाणित गरी प्रमाणपत्र दिइनेछ । २४ देश आबद्ध अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघअन्तर्गत रहेका ६ हजार पथप्रदर्शकमध्ये नेपालका ५० जना छन् ।
Source:annapurna Post