काठमाडौँ — सातजना महिला पत्रकारले आगामी चैत र वैशाखमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । ३ टोलीमा रहेका पत्रकारहरुले आ-आफ्नै उद्देस्यका साथमा सगरमाथा आरोहण गर्न लागेको हो । त्यसनिम्ति उनीहरुले पहिलो चरणमा तयारी पूरा गरेको र अन्तिम तयारीमा जुटेको जनाएका छन् ।
नेपाल पत्रकार महासंघ महिला विभागले आइतबार काठमाडौंमा गरेको अन्तर्क्रियामा उक्त जानकारी दिएका हुन् । आरोहणमा जुटेका पत्रकारहरुमा देउराली चाम्लिङ, रोसा बस्नेत, प्रिया लक्ष्मी कार्की, रोजिता बुद्धाचार्य, कल्पना महर्जन, पूर्णिमा श्रेष्ठ र डोमा शेर्पा रहेका छन् ।
पाँच जना एउटै टोलीमा संलग्नन रहेका छन भने त्यसैगरी पूर्णिमा फोटो पत्रकारका रुपमा छुट्टै टोली र डोमा पहिलो महिला शेर्पा पत्रकारका रुपमा एकल आरोहणमा जाने छिन् ।
महिला सशक्तिकरण, नेपालको पर्यटन प्रवर्द्धन, आम समुदायको आवाज मिडियाकर्मीका रुपमा बाहिर ल्याउने उद्देश्यले सगरमाथा आरोहण गर्न लागेको डोमा शेर्पाले जानकारी दिइन ।
राष्ट्रिय सूचना आयोगका आयुक्त तथा प्रवक्ता यशोदा तिम्सिनाले महिला पत्रकारको सगरमाथा आरोहण सफलताको शुभकामना दिँदै सूचनाको हक पत्रकारका निम्ति मात्रै नभई सर्वसाधारणका लागिसमेत भएको उल्लेख गरिन् ।
त्यसैगरी आमसञ्चार नीति २०७३, उच्चस्तरीय कार्यान्वयन समितिकी सदस्य बबिता बस्नेतले समाज विकासमा पत्रकार महिलाहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै त्यसनिम्ति क्रियाशील रहन आग्रह गरिन् ।
पत्रकार महासंघ महिला विभाग संयोजक लक्ष्मी पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका उपाध्यक्ष दिलीप थापामगर, महासचिव रमेश विष्टले सगरमाथा आरोही महिला पत्रकारहरुलाई सफलताको शुभकामना दिएका महासंघको विज्ञप्तिमा उल्लेख छ ।
श्रोत इकान्तिपुर