काठमाडौं, असोज २९ । नेपाल पर्वतारोहण संघले हेर्दै आएको १२ हिमालको नवीकरण नहुँदा पर्वतारोहीले अनुमति लिन नपाएपछि आरोहण रोकिएको छ ।
संघले सरकारसँग गरेको सम्झौता असोज ३ गते समाप्त भएपछि नवीकरण भएको छैन । सम्झौता अवधि सकिनु अघि नै सरकारसँग थप सम्झौताका लागि पहल गरे पनि पर्यटनमन्त्रीले फाइल क्याबिनेटमा नलैजाँदा महिनौंदेखि आरोहण प्रभावित बन्दै आएको हो ।
आरोहण सेवा–शुल्क संकलन गरी संघले हेर्दै आएमध्येका १२ हिमालको आरोहण अनुमति रोकिएको छ । सोलुखुम्बुको महालंगुर हिमशृंखलाअन्तर्गत पर्ने चोलात्से, क्याजो री, निरेखा, ओम्विगाइचेन, फारी लाप्चा, लोबुचे पश्चिम, अवि, रसुवाको जुगल क्षेत्रको लाङसिसा री, रसुवाकै लाङटाङ क्षेत्रमा पर्ने युव्रा हिमाल, दोलखाको कन्चनजंघाअन्तर्गत पर्ने बोक्ता, दोलखाको गौरीशंकर क्षेत्रमा पर्ने चेकिगो र गोरखाको मनास्लुअन्तर्गत पर्ने ल्हारक्या हिमालको नवीकरण रोकिएको हो । ६ हजार ५ सय मिटरभन्दा अग्ला यी हिमाललाई सरकारले ०५९ भदौ ३१ पछि संघलाई जिम्मा दिँदै आएको थियो । ५ वर्षसम्म सम्झौता हुने भए पनि असोज ३ देखि म्याद सकिएपछि मन्त्रीको बेवास्ताले काम अघि बढ्न नसकेको हो ।
हिमाल चढ्ने मुख्य समय भएकाले आरोहणमा अनुमति लिन नपाउँदा पर्वतारोही फर्कने गरेको पर्यटन व्यवसायी तेम्बा शेर्पाले बताए । यता, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले भने दुई महिनाअघि नै सम्पूर्ण प्रक्रिया पूरा गरेर फाइल मन्त्रालय पुर्याएको बताए । प्रक्रियामा रहेको भन्दै महिनौंदेखि अल्झाउने काम मन्त्रालयले गर्दा आरोहीले दुःख भोग्नुपरेको गुरुङले बताए । के गर्ने भन्ने विषयमा प्रस्ट धारणा दिन उनले माग गरे ।
संघलाई सरकारले ३३ वटा हिमाल हेर्ने जिम्मा दिइएको छ । यीमध्ये ६ हजार ५ सय मिटरभन्दा होचा हिमाललाई आरोहण अनुमति आवश्यक नपर्ने निर्णयसँगै ६ वटा हिमाल हटेर २७ वटा मात्र बाँकी रहेको छ । यीमध्ये १५ हिमाल पर्यटन ऐन २०३५ मा कानुनमै उल्लेख गरी जिम्मा दिइएको छ भने बाँकी १२ वटा ५ वर्षको सम्झौता गरी दिइँदै आएको छ ।
यी हिमालको म्याद थप गर्न ५ वर्षपछि मन्त्रिपरिषद्को निर्णयबाट नवीकरण हुने गर्छ । ०५९ साल भदौ ३१ गते मन्त्रिपरिषद्को निर्णयले थप १५ वटा हिमालको सेवा शुल्क उठाउन दिए पनि ३ वटा होचा हिमाल सूचीबाट हटेको हो । मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्यले फाइल खडा भएको तर अर्थ मन्त्रालय र कानुन मन्त्रालयको राय पछि मन्त्रिपरिषद्मा पठाउनुपर्ने भएकाले ढिलाइ भएको बताए ।
श्रोत अन्नपूर्ण पोस्ट