सरकारले सोलुखुम्बुको ५ सहित थप ५७ हिमालमा आरोहण खुला गरेको छ । खुल्ला गरिएका हिमालहरु मध्ये सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउपालिका वडा नम्बर ५ मा पर्ने ६ हजार १४१ मिटर उचाइको यासा थाक हिमाल, ६ हजार ४४५ मिटर उचाइको महालङगुर पिक, ६ हजार ४७८ मिटर उचाइको पाङ्गबुक हिमाल, ६ हजार ४९२ मिटर उचाइको रोङ्गशार हिमाल र खुम्बुकै वडा नम्बर ४ मा पर्ने ६ हजार ८२२ मिटर उचाइको चम्बु उत्तर हिमाल रहेका छन् ।
यस्तै खुम्बु पासाङल्हमु गाउपालिका बडा नम्बर ५ र दोलखाको गौरिशङकर गाउँपालिकाको वडा नम्बर ९ मा पर्ने ६ हजार ३४४ मिटर उचाइको पाल्माका हिमाललाइ पनि आरोहणका लागि खुल्ला गरिएको छ ।
डोल्पा र मुस्ताङको सिमानामा पर्ने हाङ्गदे पश्चिम हिमाललाई पनि आरोहण खुल्ला गरिएको छ । जसमा मुस्ताङ जिल्लाका १४ ,ताप्लेजुङको ११, डोल्पाको ९, मुगुको ६ ,यस्तै सोलुखुम्बुको ६, दोलखाको ४, हुम्लाको ४, रसुवाको १ र गोर्खाको १ गरि पर्यटकिय सिजनसुरु भएसगैँ पूर्व ताप्लेजुङदेखि पश्चिम डोल्पा र हुम्लासम्मका ९ जिल्लाका ५७ हिमाललाइ आरोहणका लागि खुलाइएको छ ।
मन्त्रिपरिषद् बैठकले ती हिमालमा आरोहण गतिविधि गर्न अनुमति दिने गरी खुला गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार नेपाल हिमालै हिमालको देश भए पनि धेरै हिमाल पर्वतारोहणका लागि खुला नभएको अवस्थामा थप ५७ हिमालमा आरोहण खोल्ने निर्णय भएको हो ।
यी हिमाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन तथा व्यवस्थापन गर्ने गरी खुला गरिएको मन्त्रालयले जनाएको छ ।