
टोकियो: गुरुङ समाज जापानले सगरमाथाको शिखरमा पहिलो पटक गुरुङ राष्ट्रिय परिषद्को झण्डा फहराएर गुरुङ समुदायको नाम विश्वसामु उँचो पार्ने संखुवासभाका टिकाराम गुरुङलाई भव्य समारोहका साथ सम्मान गरेको छ।
गुरुङ समाज जापानले हिजो टीकियो स्थित रोयल गार्डेन रेष्टुरेनेटमा आयोजित एक विशेष कार्यक्रममा टिकाराम गुरुङलाई सम्मान पत्र प्रदान गरिएको हो। गुरुङ समाज जापानका अध्यक्ष युवराज गुरुङले टिकाराम गुरुङको साहसिक यात्रा र योगदानको प्रशंसा गर्दै उनलाई सम्मान पत्र प्रदान गरेका हुन्।
कार्यक्रममा बोल्दै टिकाराम गुरुङले आफ्नो यस सफलताले गुरुङ समुदायलाई मात्र नभई सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको बताए। उनले भने, “मैले सगरमाथा आरोहण गरेर केवल आफ्नो सपना पूरा गरेको मात्र छैन, बरु गुरुङ समुदायको नाम विश्वसामु उँचो पार्न सकेकोमा गर्व महसुस गर्छु।”
टिकाराम गुरुङले मात्र सगरमाथा होइन, माउन्ट के-२, माउन्ट मनास्लु, माउन्ट ग्यासरब्रुम १ र २, माउन्ट चो ओयू जस्ता विश्वका अगला हिमालहरू पनि सफलतापूर्वक आरोहण गरिसकेका छन्।
गुरुङ समाज जापानका अध्यक्ष युवराज गुरुङले टिकाराम गुरुङको यस सफलतालाई प्रेरणाको स्रोतको रूपमा लिएको र उनको योगदानलाई सदैव सम्मान गर्ने बताउनुभयो ।