
गुरुङ समाज जापान कान्साईको ऐतिहासिक प्रथम अधिवेशन यही आउँदो मार्च ३० तारिख आइतबार ओसाकामा भव्य रूपमा सम्पन्न हुने तयारी अन्तिम चरणमा पुगेको छ। “भाषा, धर्म, भेषभूषा, संस्कार र संस्कृति हाम्रो शान ! मौलिक पहिचानको संरक्षण र संवर्धनमा हाम्रो अभियान !!” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको अधिवेशनमा कान्साईमा बसोबास गर्ने सम्पूर्ण गुरुङ समुदायलाई एकता र समृद्धिका लागि सहभागी हुन आह्वान गरिएको छ।
गुरुङ समाज जापान कान्साई क्षेत्रीय तदर्थ समितिको आयोजनामा हुन लागेको अधिवेशनमा गुरुङ समुदायको भाषा, धर्म, संस्कृति र पहिचानको संरक्षण र संवर्धनका लागि विभिन्न कार्यक्रमहरू प्रस्तुत गरिनेछन्। अधिवेशनमा गुरुङ समुदायका विभिन्न सामाजिक, सांस्कृतिक र आर्थिक मुद्दाहरूमा छलफल गरिनेछ। यसका साथै, कान्साईमा बसोबास गर्ने गुरुङ समुदायको एकता र आपसी सहयोगलाई थप मजबुत बनाउने उद्देश्यले विभिन्न योजनाहरू प्रस्तुत गरिने गुरुङ समाज जापानका केन्द्रीय अध्यक्ष युवराज गुरुङले जानकारी दिनुभयो।
मार्च ३० तारिख आइतबार साँझ ५ बजेबाट सुरु हुने अधिवेशनमा कान्साईमा बसोबास गर्ने सम्पूर्ण गुरुङ समुदायलाई अधिवेशनमा सहभागी भई आफ्नो समुदायको एकता र समृद्धिका लागि योगदान गर्न अनुरोध गरिएको छ। गुरुङ समाज जापानको कान्साई क्षेत्रीय तदर्थ समिति गठन भएको छ। गत फेब्रुअरी २३ तारिख आइतबार सम्पन्न बृहत् भेलाले दिनेश गुरुङको संयोजकत्वमा गुरुङ समाज जापानको कान्साई क्षेत्रीय तदर्थ समिति गठन गरेको थियो।
समितिको उप-संयोजकमा संगिना गुरूङ, निर्देश गुरूङ, सचिवमा युना गुरूङ, सह-सचिवमा प्रनिता गुरूङ, कोषाध्यक्षमा सेजल गुरूङ, सह-कोषाध्यक्षमा पविना गुरूङ र सदस्यहरूमा दुर्गा गुरूङ, सुस्मी गुरूङ, विनिता गुरूङ, जित बहादुर गुरूङ, प्रमिला गुरूङ र काजल गुरूङ चयन भएका छन्। भेलाले तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ। तेज बहादुर गुरुङ, रवि घले र कुशल गुरुङ सल्लाहकार समितिमा रहेका छन्। उक्त अधिवेशनलाई गुरुङ समाज जापानका केन्द्रीय अध्यक्ष युवराज गुरुङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।