टोकियो, जापान। किरात याक्थुङ चुम्लुङ, जापानले याक्थुङ (लिम्बु) समुदायको मौलिक चाड सिसे:क्पा तङ्नाम ५०८५ (साउने संक्रान्ति २०८२) को अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।
यो कार्यक्रम २०२५ जुलाई १३ तारिख आइतबारका दिन टोकियोको काठमान्डौ लाउन्ज ओकुबोमा दिउँसो ४ बजेदेखि राति ८ बजेसम्म चल्नेछ।
किरात याक्थुङ चुम्लुङ, जापानका अध्यक्ष मनकुमार तुम्छाले जानकारी दिनुभएअनुसार, यस कार्यक्रमको मुख्य उद्देश्य जापानमा रहेका लिम्बु समुदायलाई एकजुट गराई आफ्नो मौलिक परम्परा र संस्कृतिलाई जोगाउनु हो।
प्रवासमा रहेर पनि आफ्नो पहिचानलाई निरन्तरता दिन यस्ता कार्यक्रम महत्वपूर्ण हुने उहाँले बताउनुभयो।
सिसे:क्पा तङ्नाम लिम्बु समुदायको एक महत्वपूर्ण चाड हो, जुन प्रकृति, कृषि र मानवबीचको सम्बन्धको प्रतीकका रूपमा मनाइन्छ। यस पर्वमा लिम्बुहरूले नयाँ बालीनाली भित्र्याउनुअघि प्रकृतिप्रति आभार व्यक्त गर्छन्।
यस अवसरमा लिम्बु समुदायले परम्परागत पोशाक लगाएर ‘धान नाच’ (यालन) र ‘केलाङ’ (च्याब्रुङ नाच) जस्ता सांस्कृतिक नृत्यहरू प्रदर्शन गर्छन्।
परिवार र समुदायका सदस्यहरू भेला भई परिकारहरू तयार पारी शुभकामना आदानप्रदान गर्छन्, जसले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई झल्काउँछ।
आयोजकले जापानमा रहेका सम्पूर्ण लिम्बु दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।





