अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाले आफ्नो कार्यकाल सुरु गरेको ६ पुरा भइसकेको छ । गत जुन २७ तारिखमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएर दुतावासको जिम्मेवारी सम्हालेकी राजदुत शेर्पाले आफ्नो कार्यकालको पहिलो ६ महिनामा के गरिन् त ? दुतावासले यसै सम्बन्धमा हालसालै आफ्नो ६ महिनाको कार्यविवरण सार्वजनिक गरेको छ । विगत ६ महिनामा दुतावासले गरेका केही महत्वपूर्ण कार्यहरु निम्न छन् ।

फोन नउठ्ने समस्याको समाधान : यसअघि क्यानबेरास्थित नेपाल दुतावासमा फोन गर्दा फोन नउठ्ने समस्या थियो । केही काम परेर यदी कोही सेवाग्राहीले फोन गरेको खण्डमा दुतावासको फोन नै नउठ्ने भएपछि सेवाग्राहीले निकै दुख पाएका थिए । तर राजदुत शेर्पा आएसँगै उनले टेलिफोन नउठ्ने समस्या समाधान गरिन् । कर्मचारी तथा कन्सुलेट कार्यलयहरुलाई कार्यलय समयमा फोन उठाउन निर्देशन दिएपछि अहिले दुतावास तथा वाणिज्यदुतका कार्यलयहरुमा फोन नउठ्ने समस्या समाधान भएको छ ।

वाणिज्यदुतहरुको भेलाः पदभार ग्रहण गरेसँगै राजदुत शेर्पाले वाणिज्यदुतहरुको पनि भेला बोलाइन् । विभिन्न राज्यमा रहेका महावाणिज्य तथा वाणिज्य दुतहरुलाई क्यानबेरास्थित दुतावासमा बोलाई राजदुत शेर्पाले हाल भइरहेको कार्यसम्पादनको तरिका र आगामी दिनमा गर्नुपर्ने कामका बारेमा सुझाव ग्रहण गरिन् । त्यसका साथै शेर्पाले आफ्ना योजना सुनाउँदै सोही अनरुप कार्यसम्पादनमा लाग्न दुतहरुलाई निर्देशन पनि दिइन् । त्यसैको परिणम स्वरुप हाल पर्यटन प्रवद्र्धन, विद्यार्थीहरुको समस्या समाधान लगायतका विषयमा आन्तरिक कामहरु भइरहेका छन् ।

अष्ट्रेलिया र नेपालबीच उच्चस्तरीय भ्रमणको: गत अक्टोबरको अन्तिम साता अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा र यहाँकी विदेशमन्त्री जोली विश्वपबीच भएको भेटमा दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको दशकौं भइसक्दापनि हालसम्म दुबै देशका तर्फबाट उच्चस्तरीय भ्रमण नभएको कुरा उठ्यो । राजदुत शेर्पाको यस्तो कुरा सुनेपछि विदेशमन्त्री विस्वप आश्चर्य मान्दै छिट्टै आफुले दुई देशबीच उच्चस्तरीय भ्रमण गराउन पहल थाल्ने बताइन् । हाल अष्ट्रेलियाबाट उच्चस्तरीय टोली नेपालको औपचारिक भ्रमणका लागि जाने आन्तरिक तयारीको थालनी भएको नेपाली दुतावासले जनाएको छ ।

भिजा आवेदन प्रक्र्रिया सहज बनाउन पहल: : सोही भेटमा राजदुत शेर्पाले भिजा आवेदनका क्रममा नेपालीले सास्ती भोग्नुपरेको भन्दै सहज गरिदिन आग्रह गरिन् । जवाफमा विदेशमन्त्री विस्वपले छिट्टै नै समस्या समाधान हुने आश्वासन दिएकी थिइन भने हाल सोही अनुसार भिजा प्रक्र्रियाका केही पक्ष सहज बनाइएको छ ।
द्विपक्षीय छलफल संयन्त्र गठन: राजदुत शेर्पाले कार्यभार सम्हालेपछि नेपाल–अष्ट्रेलियाबीच द्विपक्षीय छलफल संयन्त्र गठन गरिन् । उक्त संयन्त्रले दुई देशबीचको सम्बन्धमा आइपर्ने विभिन्न पक्षका विषयमा खुलस्त कुरा गर्न तथा द्विपक्षीय हितका पक्षमा सहकार्यको ढोका खोलेको छ ।

दुतावासको आफ्नै जग्गा: शुक्रबार दुतावासले अष्ट्रेलिया सरकारसँग जग्गा खरिद गरेको छ । यो दुतावासको पहलमा भएको पछिल्लो महत्वपूर्ण उपलब्धि हो । दुईदेशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको करिब ६० वर्ष पुग्न लागेपनि अष्ट्रेलियामा आफ्नै जग्गा किन्ने विषय छलफलमा मात्रै सिमित थियो । यो कदमसँगै अष्ट्रेलियामा नेपाली दुतावास आफ्नै जग्गामा अवस्थित हुनेभएको छ भने भाडावापत तिर्दै आएको करोडौं रकम वचत हुने भएको छ । यसबाहेक अष्ट्रेलियाका विभिन्न राज्यमा भएका कार्यक्रमहरुमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै पर्यटन प्रवद्र्धन, नेपालबाट हुने उच्चस्तरीय भ्रमणको संयोजन र कुटनीतिक भेटवार्ताका पहल पनि दुतावासले आफ्नो कार्यविवरणमा समावेश गरेको छ । यसका बाबजुद राजदुत शेर्पाले केही योजना अघि सारेपनि ति काम भने पुरा भएका छैनन् ।

-Nepali Patra bata

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय