मलेसिया । पछिल्लो समय मलेसियाले गैरकानुनी आप्रवासी कामदारहरूलाई लक्षित गर्दै धमाधम धरपकड अभियान जारी राखेपछि दैनिक त्यस्ता आप्रवासी कामदार पक्राउ परिरहेको छ ।
मलेसियाले गैरकानुनी आप्रवासी कामदारविरुद्ध पछिल्लोपटक जुलाई १ देखि शुरु गरेको ‘ओपिएस थ्री’ नामक धरपकड अभियान थालेयता हजारौँ आप्रवासी कामदार पक्राउ परिसकेका छन् भने त्यसमा कैयौं नेपालीहरू छन्।
कामदारको भिडभाड हुने स्थान, साना तथा मझौला कम्पनीदेखि हजारौं कामदार कार्यरत ठूल्ठूला उद्योग तथा कलकारखानाहरू समेत धरपकडको निशानामा परेका छन्।
भिसामा उल्लेख भएअनुसारको कम्पनी र ठेगानाअनुसार काम नगरी बेग्लै कम्पनी वा बेग्लै स्थानमा काम गर्ने कामदार पनि पछिल्लो समय पक्राउ पर्न थालेका छन्।
पक्राउ
मलेसियाली अध्यागमन विभागका अनुसार राजधानी क्वालालम्पुर नजिकै साइबरजयामा रहेको एक कम्पनीमा गत शुक्रबार बेलुका गरिएको धरपकडमा ४७ नेपालीसहित ३३८ जना आप्रवासी कामदार पक्राउ परेका छन्। उनीहरूमध्ये अधिकांशले कानुनविपरीत र भिसामा उल्लेख भएभन्दा फरक कम्पनीमा काम गरेको पाइएको छ ।
मलेसियाली कानुनी प्रावधानअनुसार विदेशी कामदारले भिसामा उल्लेख भएअनुसारकै रोजगारदाता कम्पनीमा काम गर्नुपर्दछ।
कार्यवाहक राजदूत कुमारराज खरेलले उक्त अभियान थालिएयता पक्राउ पर्नेहरूको यकिन तथ्याङ्क दूतावासलाई प्राप्त नभएको बताएका छन्। अहिलेसम्म कति जना पक्राउ परे भन्ने जानकारी छैन। गत अगष्ट ९ सम्मको तथ्यांकअनुसार १६९ जना नेपाली फिर्ती केन्द्रमा र २०४ जना नेपालीहरू विभिन्न जेलहरूमा रहेका छन्।
पक्राउ पर्नेमा अधिकांश इण्डोनेसिया, बांग्लादेशलगायत मुलुकका छन् । उनीहरूको तुलनामा नेपाली कम संख्यामा छन् ।
कसरी फर्कने
त्यसरी पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई आवश्यक जाँचबुझ गरिनुका साथै अदालती निर्णय र कानुनी सजाय पूरा गरेपछि फिर्ती केन्द्रहरूमा राख्ने गरिन्छ ।
फिर्ती केन्द्रमा रहेका नेपालीहरूमध्ये कतिपयलाई सरकारी खर्चमा र कतिपयलाई उनीहरूकै परिवारले आर्थिक जोहो गरेर पठाएको पैसाबाट स्वदेश फर्काइने गरेको छ ।
श्रोत बिबीसी





