शेर्पा संघ यूरोपको आठौं बार्षिक प्रत्यक्ष बैठक शेर्पा किदुग बेल्जियमको व्यवस्थापनमा यही मार्च ३ तारीख बेल्जियमको ल्युभेनमा सम्पन्न भएको छ ।

शेर्पा संघ यूरोपका अध्यक्ष फुला शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त बैठकले संघको बार्षिक कार्यप्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै महत्वपूर्ण निर्णयहरु गरि सम्पन्न भएको हो । सोही बैठकको क्रममा शेर्पा संघ यूरोपको छात्रावृत्ति अक्ष्यकोषको वृद्धिविकासमा सहयोग गर्नुहुने बेल्जियमबासी महानुभावहरुलाई सम्मान गरिएको थियो । छात्रावृत्ति अक्ष्यकोषका लागि बेल्जियमबाट मात्रै पछिल्लो एक बर्षमा दश हजार चार सय उनान्सत्तरी यूरो संकलन भएको छ ।


नेपालको विकट क्षेत्रको अनाथ तथा असाह्य बालबालिकाहरुको शिक्षाका लागि स्थापना गरिएको उक्त छात्रावृत्ति अक्ष्यकोषलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनलाई सहजीकरण गर्नका लागि बैठकले संघका संरक्षक आङ दोर्जी सोनाम शेर्पाको संयोजकत्वमा ३ सदस्यीय एक अक्ष्यकोष संचालन समिति गठन गरिएको छ । उक्त समितिमा संयोजक आङ दोर्जी सोनाम शेर्पा, सदस्यहरुमा सल्लाहकार पेम्बा शेर्पा र सचिव ओङगेल शेर्पा रहनुभएको छ । अक्ष्यकोषको वृद्धिविकाससँगै थप बालबालिकाहरुलाई छात्रावृत्ति प्रदान गर्ने र बेल्जियमबाट जस्तै अन्य देशहरुबाट पनि संघको अक्ष्यकोष वृद्धिविकासका लागि सहयोग अपिल गर्ने निर्णय गरिएको छ । त्यसै गरी महासचिव पेम्बा गेलु शेर्पाले महासचिवको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्ने क्रममा प्रस्ताव गरेको संघको नयाँ कार्यक्रम “यूरोप शेर्पा सम्मेलन” को बिषयमा पनि बैठकमा छलफल भएको थियो । यूरोप शेर्पा संघले स्थापनाताका परिकल्पना गरेको विश्व शेर्पा संघ अहिले आएर सार्थक भएको अवस्थामा सो कार्यक्रम शेर्पाहरुको यूरोपियन क्षेत्रीय सम्मेलनको रुपमा रहने गरी आयोजना हुनु स्वभाविक हुने बैठकमा उपस्थितहरुको धारणा रहेको थियो । बैठकमा प्रथम शेर्पा महिला पत्रकारको रुपमा सगरमाथा आरोहण तयारी गरिरहेकी शेर्पा संचार समूह नेपालका निवर्तमान अध्यक्ष समेत रहेकी डोमा शेर्पाको सहयोग अपिलबारे पनि छलफल भई सहयोग संकलन गरेर सहयोग गर्ने निर्णय गरिएको छ ।


शेर्पा किदुग बेल्जियमले व्यवस्थापन गरेको उक्त बैठकमा शेर्पा संघ यूरोपका अध्यक्ष फुला शेर्पा, संघका संरक्षक तथा शेर्पा किदुग बेल्जियमका अध्यक्ष आङ दोर्जी सोनाम शेर्पा, संघका सल्लाहकार, शेर्पा सोसाईटी पोर्तुगलका संस्थापक तथा गैरआवसीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य पेम्बा शेर्पा, संघका सल्लाहकार तथा आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष पेम्बा गेल्बु शेर्पा, संघका उपाध्यक्ष पेम्बा छिरि शेर्पा, महासचिव पेम्बा गेलु शेर्पा, सचिव ओङगेल शेर्पा, कोषाध्यक्ष ङिमा ओङछु शेर्पा, शेर्पा संघ बेलायतका प्रथम उपाध्यक्ष आङ दावा शेर्पा, उपाध्यक्ष याङजी शेर्पा, शेर्पा संघ बेलायत साउथ सेन्टर सबकमिटीका अध्यक्ष शान्ता शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र पोर्तुगलका सदस्य लाक्पा याङजी शेर्पा, हल्याण्ड प्रतिनिधि पेम्बा शेर्पा, तेम्बा शेर्पा, छोक्पा शेर्पा, शेर्पा किदुग बेल्जियमका सह–कोषाध्यक्ष ङिमा शेर्पा र शेर्पा संघ यूरोपको छात्रावृत्तिको वृद्धि विकासका लागि सहयोग गर्नुहुने लालकुमार गुरुङ र अन्य बेल्जियमबासी शेर्पा महानुभावहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय