न्युयोर्क, संयुक्त राज्य अमेरिका – शेर्पा संघ अमेरिकाले हालै सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका भ्रमणमा रहेकी नेपालकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेटी ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्रमा गैरआवासीय नेपालीहरूले भोगिरहेका विभिन्न समस्या र तिनका समाधानका लागि सरकारसँग माग गरिएको छ।

शेर्पा संघ अमेरिकाले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अस्पष्टता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झन्झटिलो भिसा प्रक्रिया र राहदानी नवीकरणमा हुने ढिलासुस्तीजस्ता समस्याहरूलाई प्रमुखताका साथ उठाएको छ।

गैरआवासीय नेपाली नागरिकताको अस्पष्टता
संघले गैरआवासीय नेपाली नागरिकताले प्रदान गर्ने अधिकारका बारेमा जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरू समेत अनभिज्ञ रहेको गुनासो गरेको छ। यसले गर्दा नागरिकता प्राप्त गर्नेहरूले आफ्नो अधिकारको पूर्ण उपयोग गर्नबाट वञ्चित हुनुपरेको छ। विशेषगरी, बाबुआमाबाट प्राप्त सम्पत्ति हस्तान्तरणमा समस्या उत्पन्न भएको संघले उल्लेख गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिसा प्रक्रियाको झन्झट
विमानस्थलमा आगमन भिसा लिन लामो समय कुर्नुपर्ने र विभिन्न काउन्टरहरूमा धाउनुपर्ने झन्झटिलो प्रक्रियाले नेपाल आउने पर्यटक र गैरआवासीय नेपालीहरूमा नकारात्मक प्रभाव पार्ने संघको भनाइ छ। यसले नेपालको पहिलो छापलाई नै बिगार्ने भएकाले यो प्रक्रियालाई सरल र छिटो बनाउनुपर्नेमा संघले जोड दिएको छ।
राहदानी नवीकरणमा ढिलासुस्ती
राहदानी नवीकरणका लागि लामो समय कुर्नुपर्ने समस्याले धेरै नेपालीहरूलाई समस्यामा पारेको छ। विशेषगरी, विदेशमा बस्ने नेपालीहरूलाई यो समस्याले अझ बढी प्रभावित पारेको छ। संघले राहदानी नवीकरण प्रक्रियालाई छिटो बनाउन र आवश्यक परेकाहरूलाई द्रुत मार्गबाट सेवा प्रदान गर्न माग गरेको छ।

ज्ञापन पत्रमा शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पा, महासचिव छिरिङ शेर्पा, सचिव पेम्बा गिर्मे शेर्पा, विश्व शेर्पा संघका बरिष्ठ उपाध्यक्ष ङिमा शेर्पा, महासचिव आङ जङबु शेर्पा, शेर्पा किदुग न्युयोर्कका अध्यक्ष ई तेम्बा शेर्पा र महासचिव साङ दोर्जे शेर्पाको हस्ताक्षर छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय