काठमाडौं, २० पुस– काठमाडौंमा बिहीवार यस वषकै सबै भन्दा बढी चिसो महसुश गरिएको छ ।
काठमाडौँको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि बुधबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्रीसेल्सियस थियो । काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन । उनका अनुसार चिसो अझै बढ्ने छ ।
जाडोको समयमा विषेश त बालबालिका, वृद्धवृद्धा र सुत्केरी तथा गर्भवती महिलाहरु बढी जोखिममा पर्छन् । जाडोको समयमा आफ्नो स्वास्थ्यप्रति सचेत भइएन भने स्वास्थ्यमा समस्या मात्रै देखिदैन मानिसको ज्यानै जान सक्छ । त्यसैले आफ्नो स्वास्थ्यप्रति सचेत रहन चित्सिकहरुले सुझाव दिएका छन् ।
जाडोको समयमा स्वास्थ्यमा विषेश ध्यान दिनुपर्ने जनस्वास्थ्य विज्ञ डाक्टर अरुणा उप्रेतीले बताइन् । उनले लोकान्तरसँग भनिन्, ‘जाडो मौसममा रुघा लाग्ने, छाती दुख्ने, बालबालिकामा निमोनिया हुने र सुत्केरी महिला तथा वृद्धवृद्धामा विभिन्न्न समस्या देखिन्छ । ’
डा. उप्रेतीका अनुसार चिसोबाट बच्न यी कुरामा ध्यान दिनुहोस्
न्यानो कपडा लागाउने ।
टाउको र हातखुट्टालाई तातो पार्नुपर्छ ।
तोरीको तेलले शरीर तथा हातखुट्टा मालिस गर्ने ।
तातो, पोसिलो तथा झोलिलो खाना खाने ।
चिसोबाट बच्न दुधमा मरिच र बेसार हालेर खाने ।
चिसो लाग्न नदिन अदुवा र विरे नुन हालेर पानी उमालेर पिउने ।
नियमित तातो पानी खाने ।
जाडोको समयमा हातखुट्टा फुस्रो हुन्छ । त्यसैले छालाईलाई फुट्नबाट जोगाउन राती सुत्नु अघि तोरीको तेलले मालिस गर्नुपर्नेजनस्वास्थ्य विज्ञ डा. उप्रतीले बताइन् । जाडोको समयमा चिसोबाट बच्न आगो ताप्ने चलन पनि रहेको छ ।
आगो ताप्दा विषेश त शहरबजार तिर प्लास्टिकको झोलाहरु पनि बालेर आगो ताप्ने गरिन्छ । यसरी आगो ताप्दा हातखुट्टा, अनुहार सुख्खा भएर फुट्ने र स्वास्थ्यमा अन्य असर गर्ने डा. उप्रेतीले बताइन् । ‘प्लास्टिकमा हुने टक्सिन नामक रसायनको कारण स्वास्थ्यमा असर पर्छ । त्यसैले प्लास्टिकको प्रयोग गरेर आगो ताप्न हुदैन । भ्यालढोका बन्द गरेर पनि कोठा भित्र आगो बाल्नु हुदैन ,’ उनले भनिन् ,‘ चिसोबाट बच्न न्यानो कपडा नै उत्तम हुन्छ ।’
source lokantar
पुस २०, २०७४ मा प्रकाशित