डा.नविन पौडेल /मेडिकल अफिसर, भरतपुर हस्पिटल, चितवन
रक्तचाप (Blood pressure) भनेको मुटु खुम्चिदा र फैलिदा रक्त नलीको भित्तामा पर्ने दबाब हो । सामान्यतया रक्तचापलाई मिलिमिटर अफ मर्करी (mmHg) मा नापिन्छ । मुटु खुम्चिदा नापिएको रक्तचापलाई “सिस्टोलिक रक्तचाप” (SBP) भनिन्छ, र मुटु फैलिदा नापिएको रक्तचापलाई “डायस्टोलिक रक्तचाप” (DBP) भनिन्छ ।
उच्च रक्तचाप भनेको त्यस्तो अवस्था हो जहाँ SBP 140 mmHg बराबर वा सो भन्दा बढी रहिरहन्छ, अथवा DBP 90 mmHg बराबर वा सो भन्दा बढी रहि रहन्छ ।
उच्च रक्तचापको लागि जोखिम कारकहरु:
धुम्रपान, मोटोपन
अत्याधिक मात्रामा नुन खाने,
अत्याधिक मात्रामा मदिरा सेवन गर्ने,
बुढ्यौली !
उच्च रक्तचापको लक्षणहरु
अधिकांश रोगीहरुमा कुनै पनि लक्षणहरु हुँदैन । लक्षणहरु सामान्यतया नियमित चेक अप वा जटिलताहरु विकास हुने क्रममा पत्ता लगाइन्छ ।
अत्याधिक उच्च रक्तचापले गर्दा रिङटा लाग्ने, दृष्यमा गडबडी हुने, टाउको दुख्ने, नैराश्य र थकान महसुस हुने जस्ता लक्षणहरु हुन सक्छ ।
जटिलताहरु:
उच्च रक्तचापको उपचार नगरे वा नियन्त्रण नगरेमा मुटुले काम नगर्ने, कारोनरी मुटु रोग हुने, स्ट्रोक हुने, मृगौलाले काम नगर्ने जस्ता जटिलताहरु निम्त्याउन सक्छ । अनियन्त्रित रक्तचाप एक अज्ञात हत्यारा हो । प्रारम्भिक निदान र उचित उपचारले प्रभावकारी रुपमा जटिलताहरुलाई रोक्न वा कम गर्न सक्छ ।
उच्च रक्तचापको व्यवस्थापन
डाक्टरको सिफारिस अनुसार औषधि लिनुहोस् र नियमित रुपमा फलो–अपमा उपस्थित हुनुहोस् ।
रक्तचापको स्वयं–निगरानी गर्नुहास् ।
स्वस्थ जीवनशैली कायम राख्नुहोस ।
धुम्रपान नगर्नुहोस् ।
स्वस्थ खाने बानी बसाल्नुहोस् ।
नुन कम खानुहोस् र धेरै फलफूलहरु र तरकारीहरु खानुहोस् ।
कम्तिमा पनि 10 मिनेट अवधिको, मध्यम–तीव्र खालको एरोबिक शारीरिक गतिविधि गर्नुहोस्, जस्तै: जगिङ गर्ने, हिँड्ने, पौडि खेल्ने ,आदि
तनावलाई राम्रोसँग व्यवस्थापन गर्नुहोस् र सकरात्मक रहनुहोस् ।
मदिरा सेवन नगर्नुहोस् ।