चीनको सिगात्सेलाई केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पको धक्का नेपालका पूर्वी र मध्य भेगसहित काठमाडौं उपत्यकामा समेत महसुस गरिएको छ। यद्यपि, नेपालमा ठूलो क्षति नभए पनि सामान्य क्षति भएको गृह मन्त्रालयले जनाएको छ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोलुखुम्बु, सङ्खुवासभा, ओखलढुङ्गा र ताप्लेजुङ जिल्लामा गरी ६ वटा घरमा क्षति पुगेको छ। यसैबीच, काठमाण्डौको स्युचाटारमा भूकम्पको त्रासले एक व्यक्ति घरको छतबाट हाम फाल्दा घाइते भएका छन्। त्यस्तै, बाराको कलैयामा एक विद्यालयका ११ जना विद्यार्थी भूकम्पको झट्काका कारण बेहोस भएका थिए। उनीहरूलाई सामान्य उपचारपछि घर फर्काइएको छ।

प्रहरीले क्षतिको पूर्ण विवरण सङ्कलन गरिरहेको जनाएको छ। यसैबीच, चीनमा भने यस भूकम्पका कारण ५३ जनाभन्दा बढीको ज्यान गएको खबर प्राप्त भएको छ।





