राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता ज्ञानेन्द्र शाहीले माओवादी जनयुद्धमा भएको भौतिक क्षतिको रकम प्रचण्डको सम्पत्तिबाट असुल्नुपर्ने माग राखेका छन् । प्रचण्डले आफ्नो परिवारलाई पदमा पुर्याउन देशले १५ खर्बको भौतिक क्षति व्यहोरेको उनको दाबी छ ।
शाहीले देशका ११ सय ठूला साना उद्योग माओवादीले बन्द गराएको तथा एक लाखभन्दा बढी घरेलु उद्योग सखाप पारेको आरोप लगाए । ६ लाखभन्दा बढीलाई बेरोजगार बनाएर बेल्चा हाल्न विदेश पठाइएको उनले बताए ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसदमा राजतन्त्र र गणतन्त्रको गलत डाटा प्रस्तुत गरेको आरोप पनि शाहीले लगाए ।
उनले भने, ‘विश्वप्रकाशजीले राजाका पालामा देश गरिब थियो, अहिले धनी भयो भन्नुभयो । उहाँको कानमा बज्नेगरी सुनाइदिनुहोला । २०४४ सालमा नेपालको प्रतिव्यक्ति आय १४६ डलर थियो भने चीनको २८४ डलर थियो । आज चीनको प्रतिव्यक्ति २४,३६० डलर छ भने नेपालको एक हजार ४ सय ५६ डलर । पहिले ९८ डलरले धनी थियो चीन, आज २२ हजार ९०४ डलरले नेपालभन्दा धनी छ । अनि यी भ्रष्टहरूले देश बर्बाद पारेका हुन् कि होइनन् ?’





