राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेमाथि भइरहेको भनिएको ‘राजनीतिक प्रतिशोध’ विरुद्ध असार ७ गतेदेखि सुरु गरेको राष्ट्रव्यापी हस्ताक्षर अभियानले हालसम्म २४ लाख ५७ हजार ६ सय १८ हस्ताक्षर संकलन गरेको छ।
अभियान संयोजक दीपक बोहराले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएअनुसार, यो अभियान कम्तिमा १०० दिनसम्म चल्नेछ र हालसम्म २५ दिन पूरा भइसकेको छ।
अभियानको नेतृत्व हालसम्म प्रदेश, जिल्ला र पालिकास्तरीय समितिहरूले गर्दै आएका छन्। अब साउन ५ गतेदेखि वडा समितिहरूले यस अभियानलाई जनस्तरसम्म पुर्याउन घरदैलो कार्यक्रम सञ्चालन गर्नेछन्। साथै, अब नेपाल-भारत सीमा नाकाका मुख्य विन्दुहरू (काकडभिट्टा, रक्सौल, जोगबनी, बेलहिया, जमुनाह, गड्डाचौकीलगायत), विभिन्न विमानस्थल, बसपार्क र सार्वजनिक आवागमन बढी हुने क्षेत्रमा ऐक्यबद्धता डेस्क सञ्चालन गरिने बोहराले जानकारी दिए।
रुपन्देही-३ मा हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै, सो क्षेत्रका ३६ वटै वडामा बुथमार्फत हस्ताक्षर अभियान सञ्चालन भइरहेको छ। यद्यपि, वर्षा र खेतीपातीको समय भएकाले ग्रामीण क्षेत्रमा अभियानको गति केही सुस्त देखिए पनि, आगामी दिनमा बढ्ने अपेक्षा गरिएको छ।
हालसम्म संकलित हस्ताक्षरको प्रदेशगत विवरण अनुसार, बागमती प्रदेशबाट सर्वाधिक ६ लाख ३९ हजार ६८ हस्ताक्षर संकलन भएको छ
भने गण्डकी प्रदेशबाट ४ लाख ३२ हजार ७ सय २३ र लुम्बिनी प्रदेशबाट २ लाख ३६ हजार ५ सय ९५ हस्ताक्षर प्राप्त भएका छन्। कोशी प्रदेशबाट १ लाख ६६ हजार ८ सय ६१, सुदूरपश्चिम प्रदेशबाट ९४ हजार ५ सय ३५, कर्णाली प्रदेशबाट ४३ हजार ७ सय ७५ र मधेश प्रदेशबाट २० हजार ५ सय ५ हस्ताक्षर संकलन भएका छन्।
भौतिक हस्ताक्षरका अतिरिक्त, केन्द्रीय कार्यालयबाट ३३ हजार ३ सय ७०, काठमाडौंमा राखिएको ¥याट व्यवस्थापन बुथबाट ५९ हजार ८ सय ८५, ह्वाट्सएप मार्फत ६ लाख ५० हजार १७२ र इमेल मार्फत ८० हजार १७६ हस्ताक्षर संकलन भएको छ।
अभियानको खर्चका लागि छुट्टै कोष निर्माण गरिएको छ। हालसम्म ५ लाख अपिल र २ लाख हस्ताक्षर फारम छापेर रास्वपाका समिति र शुभेच्छुक/शुभचिन्तकहरूमार्फत वितरण गरिएको छ। पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको विवरण अनुसार, हालसम्म छपाईमा १७ लाख २० हजार, प्रचार-प्रसार/फ्लेक्स/बुथ निर्माणमा ३ लाख ८० हजार, अन्य व्यवस्थापनमा ७ लाख ४५ हजार र विविधमा ८७ हजार रुपैयाँ खर्च भएको छ। यसबाहेक, १० लाख अपिल, १ लाख हस्ताक्षर फारम र अन्यका लागि ३० लाख ३५ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ। यसरी, हालसम्म कुल ५९ लाख ६७ हजार रुपैयाँ खर्च भइसकेको छ।
आम्दानीतर्फ, हालसम्म ४६ लाख १२ हजार ६ सय ३७ रुपैयाँ सहयोग संकलन भएको छ, जसले गर्दा हालसम्म अभियानमा १३ लाख ५४ हजार ४ सय ८६ रुपैयाँ घाटा देखिएको छ। अभियान अझै लामो समय चल्ने भएकाले थप खर्च लाग्ने संयोजक बोहराले बताए। रास्वपाले यस अभियानलाई रवि लामिछानेमाथि भइरहेको ‘अन्याय’ विरुद्ध जनताको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्वपूर्ण माध्यमको रूपमा लिएको छ।





