सोलुखुम्बु — सोलुदूधकुण्ड नगरपालिका–३ (साविक लोदिङ-३) मा रहेको पिके सेवा केन्द्रको गुम्बामा देवीदेवताका मूर्ति खरिदका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ।
केन्द्रका महासचिव देण्डी शेर्पाका अनुसार, सोलुदूधकुण्ड नगरपालिका–२ का स्थायी बासिन्दा तथा हाल फ्रान्समा रहनुहुने समाजसेवी डा. पासाङ काजी लामा शेर्पाले गुम्बाका लागि ४ फिट अग्लो देवताको मूर्ति खरिद गर्न पहिलो चरणमा १०,००,००० (दश लाखरुपैयाँ) सहयोग प्रदान गर्नुभएको हो।

काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टमा केन्द्रका पदाधिकारीहरूसँग हालै भएको भेटघाटका क्रममा उहाँले यो सहयोग रकम उपलब्ध गराउनुभएको हो। साथै, उहाँले आगामी दिनमा थप रकम सहयोग गरी एक थान बुद्धमूर्ति खरिद गर्नसमेत सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र गुम्बाको विकासमा पुर्याउनु भएको यस महत्त्वपूर्ण योगदानका लागि केन्द्रले डा. शेर्पाप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
पिके सेवा केन्द्रबारे संक्षिप्त जानकारी:
६ वर्षअघि स्थानीय बासिन्दाहरूद्वारा स्थापित पिके सेवा केन्द्र एक गैरनाफामूलक सामाजिक संस्था हो।
यस केन्द्रको बहुउद्देश्यीय भवनको माथिल्लो तलामा पूजापाठ र प्रार्थनाका लागि बुद्धका मूर्ति तथा परम्परागत छोसम (वेदी) सहितको गुम्बा रहेको छ भने तल्लो तला (बेसमेन्ट) मा लोदिङ र तामाखानी क्षेत्रका बासिन्दाहरूका लागि शैक्षिक, सांस्कृतिक तथा विभिन्न सामुदायिक कार्यक्रमहरू सञ्चालन गर्ने गरिएको छ।
केन्द्रले आफ्ना सम्पूर्ण गतिविधि तथा अपडेटहरू अब आधिकारिक वेबसाइट www.pikeysewa.org.np मार्फत पनि सार्वजनिक गर्दै आएको छ।



