नेपाल मेडिकल काउन्सिलमा दर्ता चिकित्सकहरूको पछिल्लो सङ्ख्या ३८,४९९ छ। त्यसमध्ये केही विदेशी चिकित्सकहरू पनि छन्।

नेपालमा करिब ११,००० विशेषज्ञ चिकित्सक छन्।पछिल्लो समय तीव्र गतिमा बढेको चिकित्सकहरूको विदेश पलायनले केही विशिष्ट र जटिल रोगसम्बन्धी विशेषज्ञ चिकित्सकहरू स्वदेशमा र विशेष गरी उपत्यका बाहिर पाउन चुनौती हुन सक्ने नेपाल चिकित्सक सङ्घका वरिष्ठ उपाध्यक्ष डा बद्री रिजाल बताउँछन्।

“विशेषज्ञ हुनलाई ३५ वर्षसम्म अध्ययन गरेर तयार भएको जनशक्तिलाई रोक्न सकेन भने पक्कै पनि स्वास्थ्य क्षेत्रमा ठूलो असर हुन्छ,” रिजाल भन्छन्। “कार्डिओलजिस्ट, कार्डियाक सर्जन, भास्कुलर सर्जन, न्यूरोसर्जन, प्लास्टिक सर्जनहरूको जनशक्ति अहिले नै अभाव छ।”

सेवा सुविधा र चिकित्सकहरूमाथि बेलाबखत हुने आक्रमणबाट व्यक्तिगत सुरक्षा अभावका कारण चिकित्सकहरू उपत्यका बाहिर बस्न नखोजेको रिजाल बताउँछन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले पनि काठमाण्डू उपत्यकाबाहिर चिकित्सक र स्वास्थ्यकर्मीहरूको अभाव देखाएको छ। सङ्घीय अस्पतालहरूमा चिकित्सकहरूको दरबन्दी रिक्त नभए पनि प्रादेशिक र स्थानीय अस्पतालहरूमा चिकित्सकहरू धेरै रिक्त रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकी बताउँछन्।

त्यसको एउटा कारण प्रदेश लोकसेवा आयोगबाट चिकित्सकहरूको पदपूर्तिमा भएको ढिलाइ पनि रहेको उनले बताए। नेपालमा सङ्घीय संरचना लागु भएपछि स्वास्थ्यकर्मीहरूको समायोजन हुँदा अधिकांशले सङ्घीय सेवा रोजेका थिए।

“देशभरि तीनवटै तहमा सबै स्वास्थ्यकर्मीहरूको ३२-३३ हजार दरबन्दी हुँदा २०-२१ हजारभन्दा धेरै स्वास्थ्यकर्मीहरूको पदपूर्ति भएको छैन,” उनी भन्छन्।नेपालमा चिकित्सा अध्ययन गर्ने युवाहरूको सङ्ख्या बढ्दो क्रममा रहे पनि नयाँ चिकित्सकहरूलाई स्वदेशमै टिकाउन चुनौती देखिएको मन्त्रालयका प्रवक्ता बताउँछन्।

“नेपालमा उचित सुविधा र पेसागत सुरक्षा दिन सकियो भने मात्रै चिकित्सकहरू रहलान्। नभए त जहाँ बढी सुविधा पाइन्छ, जहाँ भविष्य सुनिश्चित हुन्छ, सबै त्यतै जान खोज्छन्,” बुढाथोकी भन्छन्।

निजामती ऐनमा स्वास्थ्यलाई अलग राख्ने र काम तथा दुर्गमताअनुसार अतिरिक्त सेवासुविधाको कानुन बनाउन पहल भइरहेको प्रवक्ता बुढाथोकी बताउँछन्।

source :bbcnepali

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय