टोकियो, जापान २०२६ जनवरी २, शुक्रबार
गुरूङ समाज जापानको आयोजनामा ‘दोश्रो तमू ल्होसार’ सांस्कृतिक साँझ २०२६ जापानको राजधानी टोकियोमा भव्यताका साथ सम्पन्न भएको छ। गुरुङ समुदायको नयाँ वर्ष तथा मौलिक पर्व ल्होसारको अवसरमा आयोजित उक्त कार्यक्रममा जापानमा रहेका नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
औपचारिक सत्र र सम्मान कार्यक्रम
समाजका अध्यक्ष युवराज गुरूङको सभापतित्वमा सम्पन्न पहिलो चरणको कार्यक्रमलाई शिक्षा विभाग प्रमुख सोमान गुरूङले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि एनआरएनए आइसीसी (NRNA ICC) का उपाध्यक्ष रोवीन शेर्चनले पानसमा बत्ती बालेर गर्नुभएको थियो। सो अवसरमा प्रकाश गुरूङले नेपालको राष्ट्रिय गान र गुरूङ राष्ट्रिय गीत प्रस्तुत गर्नुभएको थियो भने आशिष गुरूङले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, इभेन्ट पार्टनर स्माईल मोवाई रेमिन्टेन्सका बिजनेस म्यानेजर कर्म तामाङ, आदिवासी जनजाति अभियान्ता तथा प्रलोपाका युवा नेता रूप नारायण श्रेष्ठ, नेफिन जापानका प्रतिनिधि र पत्रकार महासंघ जापानका अध्यक्ष रविन्द्र श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो।
सोही अवसरमा पत्रकारितामार्फत पुर्याएको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघ जापानका निवर्तमान अध्यक्ष शान्त पहरी र सह-सचिव फुर्बा शेर्पालाई सम्मान गरिएको थियो। साथै, समाजमा अतुलनीय योगदान पुर्याउनुहुने सल्लाहकार चित्र गुरूङलाई पनि सम्मान पत्रद्वारा सम्मानित गरियो।

विविध सांस्कृतिक प्रस्तुति
दोस्रो चरणको सांस्कृतिक कार्यक्रमलाई समाजका उपाध्यक्ष एवं गायक प्रकाश कोके गुरूङ, सुजन गुरूङ र जमुना गुरूङले सञ्चालन गर्नुभएको थियो। सांस्कृतिक संयोजक प्रकाश गुरूङको संयोजनमा विभिन्न मौलिक र आधुनिक प्रस्तुतिहरू दिइएको थियो:
• नृत्यहरू: क्रमु ङोर्ले समूह (करुणा, मेनिशा र मुना), जान्भी समूह (जान्भी, आराध्या, एन्ड्रिया), बुकी फूल समूह (सुरज, युकेश, सनेम, उज्वल, पिया, सोनु, प्रिया र मन्जु), मखमली चोली कौडा (मेसु, माया, सिमरन, याम घले, अशिम र किमलुन), सोरठी नृत्य, कशी छोरी कौडा र फूलमा राम्रो कौडा (भक्ती, पुनम, सेजल, सुश्मी, प्रनिता र माया), आमा समूहको ‘सुनको टर्बै’ र गोर्खे खुकुरी नृत्य।
• गायन: चर्चित लोकदोहोरी गायिका काजल गुरूङ, गायक मनराज गुरूङ, ज्योति लोहनी गुरूङ, प्रकाश गुरूङ, र जिमी गुरूङ लगायतका कलाकारहरूले बेजोड प्रस्तुति दिएका थिए। ‘कोईलम् मिं छ्यांबा’ गीतमा चिज, उज्वल, मुना र मेनिसाले स्वर दिएका थिए। कार्यक्रमको अन्त्यमा डिजे र सामूहिक दोहोरीले हललाई गुञ्जायमान बनाएको थियो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष युवराज गुरूङले जापानमा रहेका गुरुङ समुदायबीच एकता, सद्भाव र मौलिक संस्कृतिको संरक्षण गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने संरक्षक, सल्लाहकार, आजीवन सदस्य र प्रायोजकहरूलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो।





