चर्चित कार्यक्रम ‘हेर्ने कथा’ले भेट्टाएका भोजपुरको षडानन्द नगरपालिका-१० का प्रकाश तामाङ गोरखाको चुमभ्याली छाडेर घर फर्किएका छन् ।
‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’ शीर्षकको पछिल्लो सत्य कथाका मुख्य पात्र प्रकाश गोरखाको चुमनुब्री गाउँपालिका-७ छेकम्पारस्थित मालिकको घरबाट बिदा भएर भोजपुरका लागि हिँडेका हुन् ।
उनलाई छेकम्पारबाट स-सम्मान बिदा गरिएको हो । उलाई छेकम्पारमा बिदाइका क्रममा चुमनुब्री वडा नम्बर ८ का अध्यक्ष टसी दोर्जे लामा, स्थानीय साथीभाइ र मालिकलेसमेत खादा लगाइदिएका थिए ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई मालिक टासी लामाले १० लाख रुपैयाँ दिने भएका छन् । त्यसैगरी गाउँपालिकाको तर्फबाट प्रकाशलाई एक लाख रुपैयाँ दिने उनले बताए । उक्त रकम प्रकाशले बैंक खाता खोलेपछि मालिक टासी लामाले जम्मा गरिदिने भएका छन् ।