ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ बजारसँग जोडिएको आदिवासीहरूको आस्थाको केन्द्र, मुन्धुमी पहाड ‘मुक्कुमलुङ’मा लामो समयदेखि पहिचानको आन्दोलन चलिरहेको छ।
यस आन्दोलनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – संघीय लिम्बुवान प्रान्तीय मञ्च, ताप्लेजुङ जिल्ला कार्य समिति र त्यस जिल्लाका मञ्चसँग सम्बन्धित लिम्बुवाणी नेता कार्यकर्ताहरू पहिलो दिनदेखि नै सक्रिय रूपमा संलग्न छन्।


मुक्कुमलुङ पहाडलाई मुन्धुमी पहाडको रूपमा संरक्षण गर्ने र यसलाई विश्वभरका आध्यात्मिक मानिसहरूका लागि ‘आत्मिक पहाड’को रूपमा खुला राख्ने हाम्रो माग छ। तर, राज्य पक्षले यहाँ फलामे लठ्ठा (केबल कार) तानेर नाफा कमाउने योजना बनाएको छ।
संघीय लिम्वुवान प्रान्तिय मन्च नेपालले हालै एक प्रेष बिज्ञप्ति जारी गर्दै विवादका कारण तीन जना तीर्थयात्रीहरू, जन लिम्बु, शुशील लिम्बु र सन्जोग लिम्बुलाई बिना कारण पक्राउ गरिएको जनाएको छ ।
बिना कारण पक्राउ परेका यी तीन युवाहरूलाई तत्काल रिहा गर्न, लोकतान्त्रिक रूपमा विरोध गर्न पाउने जनताको अधिकार सुनिश्चित गर्न, र मुक्कुमलुङमा फलामे लठ्ठा टाँग्ने काम तत्काल बन्द गर्न भन्ने माग राख्दै, मुक्कुमलुङ संघर्ष समितिले पुष २१ गतेदेखि मेची मार्ग र तमोर करिडोर बन्द गर्ने घोषणा गरेको प्रान्तीय महासचिव भूपेन्द्रसुन्दर लावतीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिज्ञप्ति मार्फत सम्पूर्ण सरोकारवालालाई यस आन्दोलनमा साथ दिन पनि हार्दिक अपिल गरेको छ ।





