टोकियो, जापान।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानको १९ औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वको कार्यकाल र आगामी जिम्मेवारीका सम्बन्धमा गुरुङ समाज जापानले स्पष्ट पारेको छ। समाजले जापानस्थित सम्पूर्ण नेपाली संघ-संस्थाहरूलाई औपचारिक पत्र पठाउँदै आगामी कार्यदिशाबारे जानकारी गराई सहयोगको अनुरोध गरेको हो।

गुरुङ समाज जापानका अध्यक्ष युवराज गुरुङद्वारा जारी विज्ञप्तिअनुसार, नेफिन जापानको १९ औँ महाधिवेशनमा भएको ऐतिहासिक तीन बुँदे सहमतिबमोजिम २४ नोभेम्बर २०२४ मा नयाँ नेतृत्व चयन गरिएको थियो। सोही सहमति अनुसार तत्कालीन अध्यक्षलाई दिइएको ६ महिनाको कार्यकालको समयसीमा समाप्त भई सहमति फिर्ता लिइसकेको पत्रमा उल्लेख छ।

विज्ञप्तिमा जनाइएअनुसार, नेफिन जापानको बाँकी कार्यकालका लागि अध्यक्ष पदको वैधानिक जिम्मेवारी सम्हाल्न गुरुङ समाज जापानको तर्फबाट जीवन कुमार गुरुङलाई अगाडि सारिएको छ। यसका लागि समाजले यसअघि नै औपचारिक सिफारिस पत्र सम्बन्धित निकायमा पठाइसकेको स्पष्ट पारेको छ।

गुरुङ समाज जापानले जापानमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाहरूलाई अबका दिनदेखि नेफिन जापानसँग गरिने सम्पूर्ण पत्राचार, समन्वय तथा सहकार्य श्री जीवन कुमार गुरुङको नाममा गर्न विशेष अनुरोध गरेको छ। यस निर्णयले संस्थागत कार्यसम्पादनलाई थप सहज, पारदर्शी र व्यवस्थित बनाउने विश्वास समाजले व्यक्त गरेको छ।

उक्त पत्रको बोधार्थ नेपाल आदिवासी जनजाति महासंघको संघीय परिषद् (जापान) का साथै काठमाडौंस्थित केन्द्रीय कार्यालयमा समेत पठाइएको छ। समाजले सबै संघ-संस्थाहरूसँग आपसी समझदारी, सहकार्य र एकताको अपेक्षा गर्दै निरन्तर सहयोगका लागि अपिल गरेको छ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय