सरकारले बाढीपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम छिटो सकेर एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने योजना बनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो पत्रकार सम्मेलन गरेर ठूलो प्राकृतिक विपत्ति सामना गर्न सरकारको तयारी नपुगेको स्वीकार गर्दै विपद्पछिको उद्धार र खोजीमा देखिएका कमीकमजोरी सच्याउने प्रतिबद्धता जनाउनुभएको छ । घरबारबिहीन भएकाहरुलाई सरकारले तोकेको ठाउँमा अस्थायी आवास बनाउन दिने सरकारको कार्ययोजना छ ।
अवरुद्ध भएका राजमार्गहरुलाई तत्काल अस्थायी रुपमा सञ्चालन गर्ने योजनाका साथ काम भइरहेको सरकारले जनाएको छ । सरकारले खोज तथा उद्धारमा ३० हजार भन्दा धेरै परिचालन गरेको जनाएको छ । बाढीपहिरोमा परी ज्यान गुमाएका र बेपत्ता भएका नागरिकका घरपरिवारलाई राहत वितरण शुरु भइसकेको सरकारको भनाइ छ ।
विपद्लाई देखाएर अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्यबृद्धि र कालोबजारी नियन्त्रणका लागि अनुगमन टोली खटाइएको सरकारले जनाएको छ । विभिन्न ठाउँमा अवरुद्ध टेलिफोन सेवा र विद्युत् सेवा नियमित गराउन आवश्यक जनशक्ति परिचालन गरी पुनःनिर्माण र पुनःस्थापनाको काम भइरहेको छ ।
मुख्यसचिव एकनारायण अर्यालका अनुसार, बाढीपहिरो र डुबानबाट २१ जिल्ला प्रभावित भएका छन् । विशेष गरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाण्डौ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लामा बढी क्षति पुगेको छ ।
पछिल्लो पटकको बाढीपहिरोमा परी अहिलेसम्म दुई सय २८ जनाको ज्यान गएको छ भने २५ जना बेपत्ता छन् । एक सय ५८ जना घाइते छन् । उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित ठाउँमा पठाइएको मुख्यसचिव अर्यालले बताउनुभएको छ ।