नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टी स्टेटको फाइल खोल्न तयार हुनुहुन्छ कि हुनुहुन्न भनी गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्नुभएको छ ।

प्रतिनिधि सभाको आजकाे बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले ७० बिघा जमिनको कमिसन खाएको भनेर आराेप लगाएकाे भन्दै छानबिन गर्न गृहमन्त्रीलाई चुनौती दिनुभएको हो । उहाँले गिरीबन्धुको अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न चुनौती दिनुभयो ।

महामन्त्री शर्माले गृहमन्त्रीले गिरीबन्धु टी स्टेटको सम्बन्धमा फाइल खोल्न होइन बोल्न पनि नसक्ने बताउनुभयो । उहाँले ओलीले शिक्षामन्त्रीमाथि गरेको टिप्पणीबारेमा पनि पार्टी सभापतिसमेत रहेका गृहमन्त्रीले बोल्न नसकेको बताउनुभयो ।

महामन्त्री शर्माले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग केपी ओली भिडिरहेको भन्दै त्यसरी भिड्नुपरेमा उपमेयर अथवा सम्बन्धित तहका पार्टी प्रतिनिधिलाई लगाउन सुझावसमेत दिनुभयो । उहाँले न्युरोडमा सडकपेटी बढाउनु जरुरी रहेको धारणा राख्दै मेयर बालेन्द्रले ठीक काम गरेका समेत बताउनुभयो ।

त्यस्तै महामन्त्री शर्माले अदालतले निर्दोष साबित गरेपछि पनि क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न जान नपाएको भन्दै अमेरिका जान नपाउनुमा कहाँ कमजोरी भयो भनी परराष्ट्रमन्त्री र खेलकुदमन्त्रीसँग जवाफ माग गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय