कार्तिक ७, २०७४-पहिलो नेपाल आइडल बुद्ध लामा भाइटीकाको दिन पोखरा पुगे । नयाँबजारस्थित दिदीको घर गएर टीका थापे । गोवद्र्धन पूजाको दिनसम्म कन्सर्टमा व्यस्त उनी भाइटीकाको रीतिरिवाज सकिएपछि दाइदिदीसँग कार्कीडाँडा घुम्न गए । साँझ तास खेले, आफन्तसँग रमाए । समग्रमा बुद्धको तिहार गज्जबै भयो ।
उनलाई दिदी आँचल लामाले ‘ठूलो मान्छे बन्नू’ भन्ने आशीर्वादचाहिँ दिइनन् यसपालि । ‘सानो छस्, सानो नै हुनू, झुक्नू’ भनिन् । बुद्धलाई त्यो आशीर्वादले साह्रै छोएछ । ‘कसैले पनि एटिटयुड त देखाउनै हुँदैन,’ उनले कान्तिपुरसँग भने, ‘म पनि त्यस्तो कहिल्यै गर्दिनँ होला । मलाई आफ्नो ब्याकग्राउन्ड थाहा छ, कहाँबाट आएको हुँ भन्ने भुल्दिनँ ।’
६ महिनादेखि काठमाडौंमै बसिरहेका बुद्धलाई घर–टोलको न्यास्रो थियो । आइडलले नै केहीअघि पोखरा पुर्याए पनि आफ्नै पाराले घुम्ने धोको मेटिएको थिएन । त्यो इच्छा दसैंमा समेत पूरा गर्न पाएनन् । घरबाट बाहिर निस्किने माहोल थिएन । दसैंभर घरभित्रै बसे, नयाँ बुहारीझैं । ‘सेल्फी खिच्नेले हैरान बनाउँछन्,’ उनी आत्तिँदै बोले, ‘एंगल–एंगलबाट खिचुम् भन्छन् । मै नर्भस हुन्छु । तिहारमा चाहिँ लुकीछिपी अलिअलि घुमेँ ।’ तीर्थराज पोखरेलसँग संगीत सिकिरहेका बुद्धलाई नेपाल आइडल क्रुले ग्रयान्ड अडिसनमा बोलाएको थियो । अडिसनअघि नै उनले लक्ष्मण पौडयालको टोलीलाई थरीथरी गीत सुनाउनुपर्यो । अडिसनमा गोल्डेन टिकट पाउँदा उनी ‘ट्वाँ’ पर्दै स्टुडियोबाट निस्किएका थिए । ‘कस्तो विश्वासै लागेको थिएन,’ उनले भने, ‘त्यो बेला अलि सोझो थिएँ । अरूको कुरा धेरै बुझ्दनथेँ ।’
नेपाल आइडलअघि बुद्धले ‘बिग आइकन–२०१२’ मा पनि भाग लिएका थिए । त्यसमा उनी चौथो भएका थिए । त्योपछि स्थानीय रेस्टुरेन्टहरूमा गाउन थाले । उनलाई काम गर्ने ठाउँमा सबैले माया गर्थे । ‘बुद्ध भाइ’ भन्दै गाउन उक्साउँथे । उनी खुसी हुन्थे । तर, पारिश्रमिक चित्त नबुझेर दु:खी पनि थिए । ‘कसैलाई कति, कसैलाई कति दिएको मन पर्दैनथ्यो,’ उनले भने ।
अडिसनमा छानिएपछि बुद्ध उफ्रिँदै घर गए । आफू सेलेक्ट भए/नभएको कसैलाई नभन्नू भनिएको थियो । ‘तर, बाबा–आमालाई भनिहालेँ,’ उनी हाँसे, ‘धेरै एक्साइटेड भएर बिर्सेछु ।’ काठमाडौं आएपछि सुरुमा उनलाई सकस भयो । बोल्न नआएर एक्लै परे । तर, पोखराकै विशाल रेग्मी र झापाका निशान्त दाहाल उनीसँग नजिकिए । साथसंगत दिए ।
पर्फमेन्स राम्रो हुँदै गयो । उनी छानिँदै गए । बोल्न सिके, गाउन जाने । भोकल चेन्ज भएको महसुस गरे । स्टेजमा पर्फम गर्न आयो । प्राविधिक र सैद्धान्तिक कुराहरू बुझे । अहिले भने, ‘नेपाल आइडलको गुन कहिल्यै तिर्न सक्दिनँ । अवसरको खोजी गर्दै गर्दा पाएको उपलब्धि हो यो । भगवान्ले गरिखाओस् भनेर दिएका होलान् । यो भगवान्कै देन हो मलाई ।’ उनले दर्शकश्रोतालाई पनि मुरीमुरी धन्यवाद दिए ।
गोपाल योञ्जन बुद्धलाई मन पर्ने संगीतज्ञ हुन् । गायकको रूपमा उनलाई भक्तराज आचार्य महान् लाग्छन् । उनीहरूका गीत सिकेर आफू अझै सशक्त हुने उनको चाह छ । ‘अरू गायकगायिका पनि मन पर्छन्,’ उनले भने, ‘सबै प्रकारका गीत सुन्छु । थाई, कोरियन, जाप्निज गीत पनि गाइदिन्छु ।’ उनलाई आफ्नै गीत निकाल्ने हतारो भने छैन । कडा मिहिनेत गरेर चाखलाग्दो ‘इन्ट्री’ दिन चाहिरहेका छन् ।