काठमाडौँ / चीनसँग जोडिएको तातोपानी भन्सार नाकाको पुनःनिर्माणका लागि चीनले गर्ने सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । नेपालको भूकम्पपछिको पुनःनिर्माणमा चिनियाँ सहयोगअन्तर्गत आज तातोपानी भन्सार नाका, सिन्धुपाल्चोक अस्पताल र सिन्धुपाल्चोककै जिरी माध्यमिक विद्यालयको पुनःनिर्माण सम्झौतामा हस्ताक्षर भएको छ ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा नेपालका तर्फबाट अर्थसचिव शंकरप्रसाद अधिकारी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यू होङले हस्ताक्षर गर्नुभयो । हस्ताक्षरपछि अर्थसचिव अधिकारीले भूकम्पपछिको पुनःनिर्माणमा चीनले गरेको सहयोगको सराहना गर्दै सहयोग निरन्तरताका लागि आग्रह गर्नुभयो ।
चिनियाँ राजदूत यूले हस्ताक्षर भएका सम्झौतामा हुने सहयोगका बारेमा अवगत गराउनुभयो । तातोपानी भन्सार नाका पुनःनिर्माणअन्तर्गत भवन मर्मत तथा व्यापार क्षमता अभिवृद्धि गरिनेछ । यो सम्झौताअन्तर्गत पुनःनिर्माणको काम अघि बढेमा एक वर्षभित्रमा तातोपानी व्यापार नाका सञ्चालनमा आउने अपेक्षा गरिएको छ । काठमाडौँदेखि तातोपानी नाकासम्मको अरनिको राजमार्गको मर्मत तथा विस्तार गर्न यसअघि दुवै देशबीच सम्झौता भई काम शुरु भइसकेको छ ।