काठमाडौं । नेपालको अर्थतन्त्रमा शेर्पाहरुको भूमिका महत्वपूर्ण रहेको विश्व शेर्पा सम्मेलनका प्रचार प्रसार संयोजक आङछिरिङ शेर्पाले बताएका छन् । विश्व शेर्पा सम्मेलनको आवश्यकता र महत्वको बारेमा जानकारी दिँदै शेर्पाले पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
संयोजक शेर्पाले उद्योग, कलकारखाना, जलविद्युत लगायतका क्षेत्रमा लगानी गर्ने वातावरण बनाउँन समेत विश्व शेर्पा सम्मेलनले महत्वपूर्ण निर्णय गर्ने जानकारी दिए । शेर्पाले सम्मेलनमा शेर्पा भाषा, धर्म, कला, सँस्कृति, रितीरिवाज एवं परम्परागत मूल्य मान्यताहरु पुस्ता हस्तान्तरणसँगै लोप हुने क्रम भएको बताए । ‘लोप हुने क्रममा रहेको शेर्पा सँस्कृतिलाई पुस्ता हस्तान्तरणसँगै जीवित राख्नको लागि विश्व सम्मेलना आयोजना गरिएको हो’ संयोजक शेर्पाले भने । यसको साथै विश्वभरी छरिएर रहेका शेर्पाहरुले नेपाललाई समृद्ध बनाउनको लागि खेल्नु पर्ने भूमिकाको बारेमा पनि व्यापक छलफल हुने बताइएको छ ।
असोज २२ गतेदेखि काठमाडौंमा शुरु हुने विश्व शेर्पा सम्मेलन असोज २४ गतेसम्म बौद्ध टुसाल स्थित शेर्पा सेवा केन्द्रमा हुनेछ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको छ । सम्मेलनको उद्घाटन भने असोज २२ गते होटल ¥याडिसनमा हुनेछ । ऐतिहासिक पहिलो विश्व शेर्पा सम्मेलनले निर्णय गरेको विषयलाई लिपिबद्ध गरी घोषणा पत्र जारी गरिने समेत शेर्पाले बताए ।
सम्मेलनमा डेन्जो शेर्पा संघ सिक्किम, शेर्पा किदुक अमेरिका, शेर्पा संघ अमेरिका, शेर्पा संघ बेलायत, शेर्पा किदुक मलेसिया, शेर्पा सोसाइटी पोर्तुगल, अष्ट्रेलिया, शेर्पा किदुक साइप्रस, अलईन्डिया शेर्पा एसोसिएसन, शेर्पा किदुक दोहा कतार, शेर्पा संघ ईजराइल, शेर्पा किदुक बेल्जियम, शेर्पा समाज मकाउ, दक्षिण कोरिया, जापान, शेर्पा किदुक बहराइन, शेर्पा किदुक युएई, नेपाल शेर्पा संघ र यससँग संलग्न संघ संस्था, भातृ संगठनहरुको प्रतिनिधी गरी ४ सय प्रतिनिधी मूलक सहभागिता हुने संयोजक शेर्पाले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय