भाद्र १३, २०७४- यहाँ रहेको दूतावासले अस्ट्रेलियामा रहेका अवैतनिक बाणिज्यदूतावासहरुसँगको सहकार्यमा नेपाल र नेपालीको हितमा गरिने बिभिन्न महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । नेपाली दूतावास क्यानबेरामा मंगलबार आयोजना गरिएको राजदुत र अवैतानिक बाणिज्यदुतहरुसँगको परामर्श बैठकमा ‘नेपाल अष्ट्रेलिया ट्रेड तथा कमर्स टीम’ स्थापना गर्ने लगायतका निर्णय भयो ।
दूतावासद्वारा जारी विज्ञप्तिमा उक्त टीमले नेपाल र अष्ट्रेलियाबीच व्यापार, वाणिज्य तथा लगानीको अवसरहरुको विस्तारका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । यसैगरी विद्यार्थीहरुको हितका लागि कल्याणकारी कार्यक्रम ल्याउने, नेपालको उत्पादन र उद्योग तथा व्यवसायको प्रवर्द्धन गर्न आर्थिक सम्मेलन गर्ने लगायतका महत्वकांक्षी योजना सार्वजनिक गरिएको छ ।
नेपाल र अष्ट्रेलियाका सहरबीचमा भगिनी सम्बन्ध स्थापना गर्ने, सांस्कृतिक कार्यक्रमहरुको आदानप्रदान मार्फत द्वेदेशीय सम्बन्धलाई अझ मजबुत बनाउन पहल गर्ने, गैर आवासीय नेपाली संघ एनआरएन तथा शैक्षिक परामर्शदाताहरुसँगको सहकार्यमा विद्यार्थी कल्याणकारी कोष स्थापना गर्ने लगायतका योजनाहरु छन् ।
यसैगरी दुईदेशबीचमा उच्चस्तरीय राजनीतिक, शैक्षिक र ब्यापारिक भ्रमणहरु आदानप्रदान गर्न समेत पहल गर्ने निर्णय गरिएको छ । बैठकमा न्यु साउथ वेल्स र भिक्टोरियाका अवैतनिक महावाणिज्यदूतहरु दीपक खडका र चन्द्र योञ्जन तथा दक्षिण अष्ट्रेलिया, वेष्टर्न अष्ट्रेलिया र क्युन्सल्याण्डका अवैतनिक वाणिज्यदूतहरु क्रमश: दीपक धमला, फ्रेडरिक नील ब्राउन र जोसेफ एन्थोनी टुमाको सहभागिता थियो ।