मानवअधिकार र पशुपन्छी अधिकार सुनिश्चित गर्न
“शाकाहारी समाजको निमार्ण गरौँ”

“बाँच्नु र बचाउनु सबैको अधिकार छ । मार्नु र मारेर खानु कसैको अधिकार छैन”
सबै धर्मको सार अहिंसा परमो धर्म

यदि अब पनि मानिसहरुले मासु खाईरहने हो भने निकट सय वर्ष भित्र नै हरितगृह ग्यास उत्पादनको कारण पृथ्वीको तापक्रम बढेर ग्लोबल वार्मिङले मौसम र जलवायु परिवर्तन भई समयअनुसार वर्षा नहुनु, अति ज्यादा वा अति कम पानी पर्नु, स्वास्थ्यमा समस्या, नयाँ रोगहरु उत्पन्न, भोकमरी, गरिबी, पानीको समस्या, वातावरण प्रदूषण जस्ता समस्याहरु मांसाहारकै कारण हुन्छ भनी वैज्ञानिकहरुले पुष्टी गरिसकेका छन् ।

के कति कारणले मासु खान ठिक छैन त ?

१. स्वास्थ्यको कारणः आधुनिक फिड तथा फार्महरुले बढि र छिटो मासु उत्पादन गर्न एन्टीवायोटिक, क्याल्सियम, जीन तथा आर्सनिक जस्ता रसायनहरु प्रयोग गर्ने भएकोले उक्त मासु खाँदा ति मासुमा भएका १०० डिग्री तापक्रममा पनि नष्ट नहुने रसायनहरु हाम्रो शरिरमा प्रवेश गर्दछ र ६० देखि ८० प्रतिशत रोग मासुकै कारणले हुने गर्दछ । हाम्रो शरिरमा उच्च रक्तचाप, हृदयघात, पक्षघात, युरिेक एसिड, कब्जियत, पायल्स, पत्थरी, कलेजो तथा किड्नी रोग लगायत आन्द्राको शत–प्रतिशत क्यान्सर मांसाहारकै कारण हुने वैज्ञानिक पुष्टी भएको छ । मानिसको शरिर प्राकृतिकरुपले नै शाकाहारी भएकोले मांसाहार गर्नु भनेको “मकै पिस्ने मिलमा ढुंगा पिस्नु जस्तो हो ।” त्यसैले मांसाहार हाम्रो शरिरको लागि हानीकारक भएकै कारण डाक्टरहरु विशेषगरि प्राकृतिक डाक्टरहरुले शाकाहारी हुन सल्लाह दिएका छन् ।

२. वातावरणको कारणः झट्ट हेर्दा मांसाहारको कारणले वातावरणमा के असर पर्ला र जस्तो देखिन्छ । तर यसकै कारण आज पृथ्वीमा ग्लोबल वार्मिङ जस्तो भयावह अवस्था ल्याउन ठूलो भूमिका खेलेको छ । एक किलो मासु उत्पादन गर्दा ३६।४ किलो कार्वन डाईअक्साइड उत्सर्जन हुन्छ । त्यसरी नै जनावरहरुले मुख्यरुपमा उत्सर्जन गर्ने मिथेन र नाइट्रस अक्साइड ग्यास कार्वन डाईअक्साइड भन्दा क्रमशः ८४ र २९६ गुणा बढी ग्लोबल वार्मिङ गर्दछ । मासुजन्य पदार्थको लागि स्वच्छ पानी र वनजंगल फडानी अत्याधिक भएको छ ।

३. आर्थिक र सामाजिक कारणः संयुक्त राष्ट्रसंघले सार्वजनिक गरिएको तथ्यांक अनुरुप प्रतिवर्ष ७६ लाख ६५ हजार व्यक्तिहरु भोकमरी र भोकसँग सम्बन्धित कारणहरुले मर्दछन् । किनकी सोया प्रोटीन एण्ड फर्मेन्टेड मीट प्रोडक्ट नामक पुस्तकमा भनिए मुताविक एक किलो गाई, सुँगुर, कुखुरा, माछाको मासु उत्पादन गर्न क्रमशः ७, ४, २।२ र १।२ किलो अन्न खर्च हुन्छ । विकसित देशमा ७० प्रतिशत भन्दा बढी अन्न मासु उत्पादनको लागि खर्च गर्ने गर्दछन् । यदि मासुको लागि अन्न खर्च नगरेमा यो पृथ्वी अन्नको भण्डार हुनेछ । मासुको लागि जनावर काट्दा त्यो जनावरको डर, त्रास र चित्कार बाट एकप्रकारको रसायन उत्पन्न भई मासुमा मिल्दछ । उक्त रसायनयुक्त मासु खानाले मानिसमा रिस, अहँकार, घमण्ड, असन्तुष्टि, तनाव भएर परिवार र समाजमा अशान्ति सृजना गर्दछ ।

मांसाहारी र शाकाहारी प्राणी बिच शारीरिक भिन्नता
१. मांसाहारीको दाह्रा हुन्छ, शाकाहारीको दाँत ।
२. मांसाहारीको नंग्रा हुन्छ, शाकाहारीको नङ् ।
३. मांसाहारीले राती आँखा देख्छ, शाकाहारीले देख्दैन ।
४. मांसाहारीको पसिना आउँदैन, शाकाहारीको आउँछ ।
५. मांसाहारीले पानी चाटेर पिउँछ, शाकाहारीले घट्घट पिउँछ ।
६. मांसाहारीको आन्द्रा छोटो हुन्छ, शाकाहारीको लामो हुन्छ ।
७. मांसाहारी जन्मना साथ आँखा खुल्दैन, शाकाहारीको खुलेको हुन्छ ।
यी माथिका तथ्यहरुबाट पनि के प्रमाणित हुन्छ भने मानिस प्राकृतिकरुपले नै जन्मजात शाकाहार
प्राणी भएको वैज्ञानिक पुष्टि हुन्छ । त्यसैले मांसाहार मानिसको शरिरको लागि उचित हुँदैन ।
पशुबलि तथा पशुहत्या निषेध सचेतना अभियान

मांसाहार भएको अशुभ विवाह, अशुभ व्रतबन्ध तथा छेवर, अशुभ जन्मोत्सव र अशुभ ल्होसारमा निमन्त्रणा पठाउनु र स्वीकारेर जानु भनेको हामी जस्तै सुख चाहने, दुःख नचाहने, रमाउने, मित्रता, डर, त्रास, चित्कार र पीडा महसुस गर्ने हाम्रो पूर्वजन्मको वा यहि जन्मको परलोक हुनु भएर जनावरमा जन्मेको आमाबुबाहरु जिउँदै मासुका लागि बेचेर, काटेर, पकाएर एकदिनमा १,४४० मिनेटमध्ये ५ मिनेटको क्षणिक जिब्रोको स्वाद त्याग्न नसकेर खाने गर्दछौँ । ती प्राणीहरुले आफ्नो अति प्यारो शरिर हामीलाई खाउ भनेर नदिएकोले सिधै मासु डकैत गरी हामी राक्षस र दानव बनेर “जस्तो कर्म उस्तै फल” पाउन नर्कमा लगेर त्यसपछि पनि अनन्त दुःखमा जानु र लैजानु हो । जिउँदो मासु, काँचो मासु र पकाएर विक्री गर्ने कसाइँहरु भन्दा मासु खाने महा कसाइँ हुन् किनकी मासु खाएन भने यि तीनवटै बिक्रीकर्ता स्वतः बन्द हुनेछन् ।

एउटा अशुभ विवाहमा दुलाहा दुलही, बुबाआमा, जन्तीहरु र पाहुनाहरु सबैजनालाई जतिवटा जनावरको हत्या गरेको छ, त्यति जनावर मारेको पापको फल लामो समय कल्पसम्म नर्कमा रहेर त्यहाँबाट निस्केपछि प्रत्येकको ५०० पटक अरुको हातबाट हत्या हुने ऋणमा डुबाउनु हो । जस्तो खसी १०, कुखुरा २००, राँगो १, माछा ३००० आदि जम्मा ३,२११ वटा काटेमा १६,०५,५०० पटक अरुको हातबाट मृत्यु हुनुपर्छ ।

मरेको बखतमा पूजा गर्दा मांसाहार पाप हुन्छ र नर्कमा जान्छ भनेर शाकाहार भोजन गर्छ भने के विवाह, जन्मोत्सव र भोज आदिको दिन हत्याबाट प्राप्त मासु खाएर पाप नलाग्ने हुन्छ र ? मांसाहार विवाहको साइत हेरिदिने र पूजा गरिदिएको कारण धेरै पशुहत्या हुने हुँदा ती लामा वा पुरोहित पनि प्राणीहरुको हत्या गर्नमा सहभागी भई महापाप कमाउँछन् । अज्ञानीहरु हत्या गर्न मासु डकैत गर्न र पाप गर्न लाज नमान्ने र इज्जत सम्झिन्छन् भने प्राणीहरुको ज्यान जोगाउनु र पुण्य कमाएर सुख पाउने कामलाई उल्टो लाज मान्ने र इज्जत जाने सम्झेर मांसाहार भोजन गर्ने र गराउने गर्दछन् ।

बलिको खास अर्थ ऋग्वेदमा देउताको लागि त्याग, उपहार, नैवेद्य, दान आदि चढाउनु हो । अझ बलिको अर्थ हामीमा भएको दोषहरु काम, क्रोध, लोभ, मोह र ईष्र्या त्याग्नु वा देउतालाई चढाउनु हो । देवी देउताले सबै प्राणीहरुलाई आफ्नै सन्तानको रुपमा करुणा, माया र कल्याण गरी ज्यान जोगाउन सहयोग गर्दछ । त्यस्तो देवी देउता रहने स्थानलाई मात्र मन्दिर भनिन्छ । जुन स्थानमा पशुपन्छीको हत्याहिंसा, दुःख र चित्कार हुन्छ, त्यस ठाउँलाई नर्क वा वधशाला भनिन्छ । देवी देउताको मन्दिरमा जीवहत्या शास्त्रको विरुद्ध र अधर्म हो । कुनै पनि जनावरलाई जवर्जस्ती काट्नु भनेको हत्या, चोरी, डकैती, अन्याय, राक्षसी र दानवीपन भन्दा पनि जघन्य अपराध हो । त्यो जनावरले आफूलाई बलि दिन र मासु खान भनि नदिएको हुनाले पशुबलि दिनु र मासु खानु कसैको स्वतन्त्रता र अधिकार होइन ।

सर्वोच्च अदालतले जनचेतना जगाएर गढिमाईमा दिइने पशुबलि रोक्न तथा पशुपन्छीलाई गरिने क्रुर व्यवहार तुरुन्त रोक्न वि. सं. २०७३ साल श्रावण २० गते नेपाल सरकारलाई निर्देशनात्मक आदेश जारी गरिएको छ ।

सचेत, आध्यात्मिक, समझदार, साधुसन्त र पुण्यवान मानिसले यसरी प्राणीहरु मारेर पुण्य कमाउँछ भनि कहिल्यै भन्दैन । ति पशुपन्छी पनि हामी जस्तै आफ्नो परिवार, मित्र र सन्तानको सुख, बाँच्न र पीडाबाट टाढा रहन चाहन्छन् । आफू र आफ्नो सन्तानको सुखको लागि अरु प्राणीको हत्या गर्नु अधर्म र मुर्खता मात्र नभई नरकको ढोका खोल्नु हो । सबै धर्मको सार अहिंसा हो । त्यसैले महाभारतमा पनि “अहिंसा परमो धर्म“ भनि उल्लेख गरिएको छ ।

भिक्षु आङ फुरी शेर्पा
Souce:mahaguru Media

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय