साउन १६, २०७४ सोलुखुम्बु : महाकुलुङ गाउँपालिका–१ साद्धीको तल्लो क्षेत्रको बस्ती नदी कटानका कारण पहिरोको उच्च जोखिममा परेको छ। जिल्लाको पाँचपोखरीको फेदी हुँदै बग्ने हुगाँखोलाको कटानका कारण साद्धीका करिब ३० घर पहिरोको जोखिम परेको हो। वर्षातको समयमा ठुलो भेलसहित उर्लिएर आउने हुगाँखोलाले किनारको जमिन कटान गर्दा यो क्षेत्रमा पहिरो जान थालेको छ। करिब नौ वर्षअघि साद्धीको तल्लो क्षेत्रमा पहिरो जान थालेको स्थानीय बासिन्दाको भनाइ छ। २०७२ सालका भूकम्पले जमिन झनै कमजोर बनाएका कारण पहिरोको जोखिम बढेको स्थानीय प्रेमकुमार बस्नेतले बताए।

हिउँदमा समेत सुख्खा पहिरो गइरहने यस क्षेत्रमा वर्षासँगै जमिन चिरा चिरा भई बग्दै जान थालेका कारण स्थानिय त्रसित छन्। ‘निरन्तरको वषाँंगै पहिरो जाने क्रम बढेको छ। जति पहिरो बढ्छ उति नै हाम्रो घर जोखिममा पर्छ’, स्थानीय धीरज राईले भने, ‘तर सुरक्षित स्थानमा जाने विकल्प हामीसँग छैन। सुरक्षित क्षेत्रमा स्थान्तरणको खोजीमा रहेका स्थानीय बासिन्दा जग्गा नभएको बताउँछन्। राई भन्छन्, ‘बस्ती सार्न सरकारले नै पहल गर्नुपर्छ।’ ‘राति जब पानी पर्न थाल्छ हामी ३० घरपरिवारलाई निन्द्रा लाग्दैन’, स्थानीय भीमबहादुर बस्नेत गुनासो गर्छन्, ‘पहिरो रोकथामका लागि जिल्ला प्रशासन कार्यालयसहित जल उत्पन्न प्रकोप नियन्त्रण विभागमा समेत निवेदन पत्र दियौं तर सुनुवाइ भएन।’

नदीको कटानका कारण अघिल्लो वर्ष सात घर विस्थापित भइसकेका छन्। २०७३ सालको असारमा बाढीसँगै आएको पहिरोले स्थानिय रामबहादुर बस्नेत, नारायणकुमार बस्नेत, प्रेमकुमार बस्नेत, लक्ष्मण बस्नेत, ताराकुमारी बस्नेत, कुमारी बस्नेत र पदम बहादुर बस्नेतको घर बगाएको थियो। बाढीले घर बगाउनुपूर्व नै उनीहरू सुरक्षित स्थानमा सरेका कारण मानवीय क्षति भने भएन। गत वर्षको घटनालाई सम्झिँदै लक्ष्मण बस्नेत भन्छन्, ‘पहिरोले घर लग्नुअघि नै हामी सुरक्षित स्थानमा पुगिसकेका थियौं। त्यसैले पहिरोको जोखिममा रहेका घरपरिवारलाई समयमै सुरक्षित स्थानमा लैजान पहल गर्नुपर्छ।’

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय