धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा, धादिङ समाज अमेरिकाको सहकार्य, धादिंग समाज बेल्जियमको बिशेष सहयोग तथा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहयोगमा धादिङको खनियाबास गाउँपालिका ४ स्थित दार्खामा सञ्चालन गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

शिविरको स्थानीय संयोजन खानियाबास गाऊपालिका र डीपिन धादिंगले गरेको थियो।  यहि मंसिर २६ र २७ गते खनियाबास गाउँपालिका–४ मा रहेको खनियाबास ग्रामीण अस्पतालको परिसरमा आयोजना गरिएको शिविरबाट ७७७  जना स्थानीय बासिन्दाले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

शिविरमा स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण तथा आवश्यक परेमा थप उपचारका लागि सिफारिससमेत गरिएको आयोजकले जनाएको छ। शिविरमा महिला सम्बन्धी १७७  जना, हाडजोर्नी सम्बन्धी २६५ , दाँत सम्बन्धी १७० , इन्टरनल मेडिसिन सम्बन्धी १६० जना बिरामीको स्वास्थ्य जाँच गरिएको थियो। त्यसमध्ये १४० जनाको दाँत निकालिएको, १५० जनाको भिआइए जाँच गरिएको, १६० जनाको भिडियो एक्सरे र ५६ जनाको एक्सरे गरिएको थियो।

दुर्गम भेगमा बसोबास गर्ने तथा आर्थिक रूपमा कमजोर नागरिकहरूलाई लक्षित गरी आयोजना गरिएको शिविरमा टाढा–टाढाबाट स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको थियो।

शिविरमा जनरल फिजिसियन, महिला रोग विशेषज्ञ, डेन्टल रोग विशेषज्ञ तथा हाड–जोर्नी विशेषज्ञसहितको चिकित्सक टोलीले  स्वास्थ्य परीक्षण, परामर्श, उपचार तथा औषधि वितरण सेवा प्रदान गरेको थियो। आवश्यक परेका बिरामीहरूलाई थप उपचारका लागि सिफारिससमेत गरिएको बताईएको छ।
निःशुल्क  विशेषज्ञ स्वास्थ्य शिविरका संयोजक  तथा अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले शिविर सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै दुर्गम क्षेत्रका नागरिकहरूलाई निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

त्यस्तै, सस्थाका सल्लाहकार तथा  डीपिन धादिंगका अध्यक्ष  डा प्रताप छ्त्कुलीले यस्ता स्वास्थ्य शिविरहरूले दुर्गम क्षेत्रका नागरिकहरूको स्वास्थ्य पहुँचमा ठुलो सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो। उहाँले स्थानीय तह, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहयोगी संस्थाहरूको समन्वयका कारण शिविर प्रभावकारी रूपमा सञ्चालन हुन सकेको बताउँदै आगामी दिनमा पनि समाजले सामाजिक उत्तरदायित्वका यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अन्तर्राष्ट्रिय धादिङ समाजका महासचिव बाबुकाजी भण्डारीका अनुसार शिविर समापन कार्यक्रममा खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सम्मान गर्नुभएको थियो।  उहाँका अनुसार शिविर मंसिर २६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र मंसिर २७ गते दिउँसो १ बजेसम्म सञ्चालन गरिएको थियो।

स्वास्थ्य संयोजक प्रो.डा. गोपी अर्यालकाले  दुर्गम क्षेत्रका नागरिकहरूका लागि यस्ता निःशुल्क स्वास्थ्य शिविर अत्यन्त उपयोगी हुने बताउँदै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

शिविर सफल बनाउन अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल, धादिङ समाज अमेरिका अध्यक्ष टकबहादुर रुवाली, धादिङ समाज बेल्जियमका अध्यक्ष कृष्णप्रसाद न्यौपानेलगायतको विशेष सहयोग रहेको थियो। साथै, स्थानीय तह, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा विभिन्न संघ–संस्थाहरूको सक्रिय सहकार्यले कार्यक्रम सफल बनेको प्रवक्ता सुदीप भुषण अर्यालले बताए ।

शिविरमा गाउँपालिका उपाध्यक्ष सेकेमान तामाङ, वडा अध्यक्ष लिलामान तामांग, स्वास्थ्य प्रमुख आईतराम तामाङ, खनियाबास ग्रामीण अस्पतालका इन्चार्ज डा शंकर पटेल लगायतको सहभागिता रहेको थियो। यस निःशुल्क स्वास्थ्य शिविरले दुर्गम क्षेत्रका नागरिकहरूलाई समयमै स्वास्थ्य सेवा प्राप्त गर्न महत्वपूर्ण योगदान पुर्‍याएको स्थानीयवासीहरूले प्रतिक्रिया दिएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय