टोकियो, जापान — किरात याक्थुङ चुम्लुङ जापानको आयोजनामा सिसेक्पा तङनाम-५०८६ तथा साउने सङ्क्रान्ति-२०८३ को अवसरमा शुभकामना आदानप्रदान, ताम्भुङ्चा (BBQ) र सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
जुलाई २६, २०२६ का दिन जापानको इचिकावा पार्कमा सम्पन्न सो कार्यक्रम किरात याक्थुङ चुम्लुङ जापानका अध्यक्ष बालबिक्रम तिगेलाको अध्यक्षतामा र नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानका कार्यवाहक अध्यक्ष बुद्धि गौचनको प्रमुख आतिथ्यमा भएको थियो।

कार्यक्रममा NRNA जापानका अध्यक्ष सुवास लामिछाने, कियाचु जापानका संस्थापक अध्यक्ष रिद्दिबहादुर तुम्वाहाम्फे, सम्मानित अतिथिद्वय नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष विमला सेनेहाङ लिम्बू र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङवा लिम्बू विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। यसबाहेक नेफिन जापानमा आबद्ध विभिन्न जातीय संस्थाका प्रतिनिधिहरू, चुम्लुङ जापानका पदाधिकारीहरू तथा जापानवासी याक्थुङ लिम्बू र नेपाली समुदाय गरी करिब दुई सयभन्दा बढीको सहभागिता रहेको थियो।
बेलायतबाट संस्थागत कामको सिलसिलामा जापान आइपुग्नुभएका पत्रकार महासंघ बेलायतकी अध्यक्ष विमला सेनेहाङ लिम्बू र केन्द्रीय सदस्य माला पालुङवा लिम्बूलाई कार्यक्रममा विशेष स्वागत गरिएको थियो। लिम्बू समुदायबाट पत्रकारिता क्षेत्रमा पुर्याउनुभएको विशिष्ट योगदानको कदर गर्दै उहाँहरूलाई सम्मानपत्र र खदा अर्पण गरी सम्मानित गरिएको थियो।
कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष लाखध्वज मादेम्बा (सिसाम) को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव दुर्गाप्रसाद लिम्बूले गर्नुभएको थियो। कार्यक्रममा याक्थुङ लिम्बू समुदायको मौलिक केलाङ, यालाङ, सांस्कृतिक नृत्य, गायन तथा खेलकुदका साथै विभिन्न परिकारहरूको रमाइलो प्रस्तुति रहेको उपमहासचिव सुजन आङबो लिम्बूले जानकारी दिनुभयो।
बिहान १० बजेदेखि साँझ १७ बजेसम्म सञ्चालित यस कार्यक्रमले आपसी सद्भाव र संस्कृति पुस्तान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याएको अध्यक्ष तिगेलाले व्यक्त गर्नुभयो।





