
शीर्षक: ग्लोबल फोरम जापानद्वारा जातीय भेदभाव अन्त्य र समानताका लागि आहूतिसँग अन्तरसंवाद
ग्लोबल फोरम जापानले ‘जातीय भेदभावको अन्त्य र समानताको उदय’ विषयमा एक महत्त्वपूर्ण अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ।
संस्थाले “जातीय भेदभावको अन्त्य, समानताको उदय” भन्ने राष्ट्रियव्यापी अभियानलाई निरन्तरता दिँदै आगामी जुन ८, २०२५ मा टोकियोको सिन्जुकुस्थित सोल्मारी नेपाली मुरा हलमा दिउँसो १२ बजे यो कार्यक्रम गर्ने घोषणा गरेको छ। यस कार्यक्रमको मुख्य आकर्षण नेपालका प्रख्यात सामाजिक तथा राजनीतिक विश्लेषक एवं सामाजिक अभियन्ता ‘आहूति’ सँगको विशेष अन्तरसंवाद रहनेछ।
“समतामूलक समाज– एकमात्र विकल्प” भन्ने मूल नारालाई शिरोधार्य गर्दै ग्लोबल फोरम जापानले समाजमा जरा गाडेर रहेको जातीय विभेदलाई निर्मूल पार्ने र समानताको जग बसाल्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यो अन्तरसंवाद कार्यक्रम पनि त्यही महत्त्वपूर्ण लक्ष्य प्राप्त गर्ने दिशामा चालिएको एक कदम हो, जहाँ सहभागीहरूले सामाजिक र राजनीतिक मुद्दाहरूमा गहन छलफल गर्ने अवसर पाउनेछन्।
ग्लोबल फोरम जापानकी अध्यक्ष मुना सुनारले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई यस महत्त्वपूर्ण कार्यक्रममा सहभागी भई समतामूलक समाज निर्माणको पवित्र अभियानमा ऐक्यबद्धता जनाउन हार्दिक अनुरोध गरेकी छन्। कार्यक्रमको आयोजनास्थल सोल्मारी नेपाली मुरा हल, २-२०-२३ ह्यकुनिन्चो, सिन्जुकु-कु, टोकियो १६९-००७३ रहेको छ। जापानमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस बौद्धिक र सामाजिक जमघटमा उपस्थित भई आफ्ना विचारहरू साझा गर्न र समानताको आवाजलाई बुलन्द पार्न आह्वान गरिएको छ।