प्रवासमा भाषा, धर्म, कला र संस्कृतिको संरक्षण गर्ने मूल नाराका साथ शेर्पा संघ जापानले मार्च २ गते आइतबार टोकियोस्थित मन्दिर  रेस्टुरेन्टमा हिमाली बौद्ध धर्मावलम्बीहरूको महान चाड ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी मनाएको छ।

बौद्ध धर्म विधिअनुसार बिहान ११ बजेबाट नेपालबाट आउनुभएका धर्म गुरु खेन्पो ङावाङ छेपाल शेर्पा र जापानमै रहनुभएका धर्म गुरु दोर्जी शेर्पा लामाले पाठपूजा गरी विधिवत रूपमा सुरु भएको थियो। शेर्पा संघ जापानका अध्यक्ष सोनाम लामाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली दूतावास टोकियोका महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदी प्रमुख अतिथिको रूपमा रहनुभएको थियो।

कार्यक्रममा नेपालबाट आउनुभएका धर्म गुरु खेन्पो ङावाङ छेपाल शेर्पा, शेर्पा संघ जापानका संरक्षक तथा शेर्पा युगेन हिकारीका म्यानेजिङ डाइरेक्टर निमा लामा, गैरआवासीय नेपाली संघ एनआरएन जापानका अध्यक्ष नविन निउरे, नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष हवल चन्द्र लामा, शेर्पा संघ जापानका संरक्षक तथा सल्लाहकारहरूको उपस्थिति रहेको थियो।

राष्ट्रिय गान बजाएर सुरु भएको औपचारिक कार्यक्रममा सहकोषाध्यक्ष पासाङ शेर्पाले स्वागत मन्तव्य राखेका थिए। ल्होसार गीतमा शेर्पा कलाकारहरू आङ छिमी शेर्पा, याङ्जी शेर्पा, डोल्मा शेर्पा, छिमी शेर्पा, फुल्हमु शेर्पा र आङ फुरी शेर्पाले स्वागत गर्नुभएको थियो।

नेपालबाट आउनुभएका धर्म गुरु खेन्पो ङावाङ छेपाल शेर्पाले ग्याल्पो ल्होसारको महत्वबारे प्रकाश पारेका थिए भने शेर्पा संघ जापानका संरक्षक छेवाङ जाङबु लामा र नेफिन जापानका अध्यक्ष हवल चन्द्र लामाले शुभकामना मन्तव्य राखेका थिए।

प्रमुख अतिथि राजदूत डा. दुर्गा बहादुर सुवेदीले कार्यक्रममा उपस्थित सबैलाई शुभकामना व्यक्त गर्दै ग्याल्पो ल्होसार शेर्पा समुदायको मात्र नभई सबै नेपालीहरूको साझा राष्ट्रिय पर्व भएको बताए। उनले विविधताबीचको एकता नै नेपालीहरूको सम्पदा भएको र राजनीतिक तथा धार्मिक रूपमा आस्था फरक भए पनि शेर्पा शेर्पाबीचको एकता र नेपाली नेपालीबीचको एकता बचाइराख्न आह्वान गर्नुभएको थियो ।

कार्यक्रममा नेपालबाट चर्चित कलाकार लमु शेर्पा, स्थानीय कलाकार सोनाम काहनी, दावा के शेर्पा र डीजे नबिनको प्रस्तुतिले थप रौनकता छाएको थियो। शेर्पा संघ जापान केन्द्र र किताकान्तो क्षेत्रका शेर्पा कलाकारहरूले छुट्टाछुट्टै रूपमा प्रस्तुति दिएका थिए।

शेर्पाहरूको मौलिक तथा सामूहिक स्यब्रु नृत्य, छिरीङ दिकी शेर्पा र रिन्क्षेन शेर्पाको ‘शेर्पिनी कान्छी’ बोलको गीतमा कपल डान्स, फुल्हमु शेर्पा र छिमी शेर्पाको ‘नाम्सा मार्पो’ बोलको गीतमा कपल डान्स र डोल्मा शेर्पाको ‘टुंना र डम्फु’ बोलमा प्रस्तुत एकल नृत्यले सहभागीहरूलाई नाच्न बाध्य बनाएको थियो।

कार्यक्रममा प्रमुख अतिथि र धर्म गुरु खेन्पो ङावाङ छेपाल शेर्पालाई मायाको चिनो र प्रशंसापत्र प्रदान गरिएको थियो। सहयोगी तथा कलाकारहरूलाई मायाको चिनो तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। धर्म गुरु खेन्पो ङावाङ छेपाल शेर्पाले शेर्पा संघ जापान परिवार तथा विशेष सहयोग गर्ने व्यक्तिहरूलाई सुङदी चिन्लाप र माला वितरण गर्नुभएको थियो।
आयोजकले कार्यक्रममा सहभागीहरुलाइ शेर्पा मौलिक संस्कार अनुसार सत्कार गरिनुका साथै ग्याल्पो ल्होसारकै दिन खाइने बिशेष शेर्पा खाना तथा पेय पदार्थ क्षिमार खाप्से र क्ष्याङको स्वाद समेत चखाएका थियो ।कार्यक्रमको संचालन महासचिव ङवाङ दोर्जी शेर्पाले गर्नुभएको थियो ।

कार्यक्रममा जापानमा रहेका बिभिन्न संस्थाका प्रतिनिधि शेर्पा तथा गैर शेर्पा समुदाय हरुको उल्लेखिय उपस्थिति रहेको थियो ।
यसअघि शेर्पा संघ जापान कान्साइ क्षेत्रले मार्च १ तारिख भव्य रूपमा ग्याल्पो ल्होसार मनाइसकेको छ भने शेर्पा संघ जापान किताकान्तो क्षेत्रले मार्च ९ तारिख आइतबारको दिन ग्याल्पो ल्होसार कार्यक्रम आयोजना गर्ने बताइएको छ।

जापानमा अध्ययन तथा रोजगारको लागि बिभिन्न भिषामा आउने  नेपालिहरुको संख्या बढ्न थालेपछि  शेर्पाहरूको संख्या पनि बिगतको भन्दा उल्लेख्य रूपमा बढिरहेको शेर्पा संघ जापानले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय