पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा हिजो भएको बस दुर्घटनाका मृतकको शव परीक्षण शुरू गरिएको छ । आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण शुरू गरिएको हो ।
पोखराबाट काठमाण्डौतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको ज्यान गएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा ज्यान गएको हो ।
आँबुखैरेनी अस्पतालमा ज्यान जाने २६ जनाको शव हिजो राति नै चितवन ल्याइएको र अहिले शव परीक्षण शुरू गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । शव परीक्षण पश्चात भैरहवा हुँदै भारत पठाइने उहाँले जानकारी दिनुभयो ।
सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई हिजो नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डौ लगिएको थियो ।