नेपाली समुदायको भावना र एकतालाई प्रतिनिधित्व गर्ने गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् जापानको निर्वाचन भोली हुन लागिरहेको  छ। यस सन्दर्भमा, लोकतान्त्रिक प्रक्रिया र चुनावी नैतिकताका विषयमा गहन छलफल हुनु अपरिहार्य देखिन्छ।

चुनाव केवल उम्मेदवारी दर्ता गर्ने र भोट माग्ने कार्य मात्र नभई, यो एउटा बृहत् प्रक्रिया हो जसले समाजमा जनादेशको सम्मान र सहमतिको संस्कृतिलाई स्थापित गर्छ।

यदि कुनै उम्मेदवार चुनावी प्रणालीप्रति शङ्का राख्छ, परिणामलाई स्वीकार नगर्ने चेतावनी दिन्छ, वा हार भएमा प्रणालीलाई दोष दिने मनसाय बोकेर चुनावमा आउँछ भने, त्यसले समग्र चुनावी प्रक्रियालाई कमजोर बनाउने जोखिम रहन्छ।

यस्ता उम्मेदवारको मुख्य उद्देश्य समाज सेवाभन्दा पनि जुनसुकै तरिकाले पद प्राप्त गर्नु हो भन्ने बुझिन्छ। लोकतन्त्रको मूल आधार नै मतको सम्मान र सबै पक्षको स्वीकृति हो।

जबसम्म सहभागीहरूले निर्वाचनको नियम, प्रक्रिया र परिणामलाई सम्मान गर्दैनन्, तबसम्म लोकतान्त्रिक मूल्यमान्यता कमजोर हुन्छ।
त्यसैले, निर्वाचनको नियम, प्रक्रिया र अन्तिम परिणामलाई सम्मान गर्न नसक्ने उम्मेदवारहरू चुनावी प्रक्रियामा नआएकै राम्रो हुन्छ। यस्ता उम्मेदवारहरूको अनुपस्थितिले निर्वाचन प्रक्रियालाई अझ स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन मद्दत गर्छ।

निर्वाचनप्रतिको विश्वास तब मात्र कायम रहन्छ जब सबै प्रतिस्पर्धीहरूले निष्पक्ष रूपमा नियमलाई पालना गरेर प्रतिस्पर्धा गर्छन्। प्रणालीप्रति आस्था नराख्ने र विश्वास नगर्नेहरू प्रक्रियाबाट बाहिरै बस्दा समग्र चुनावी वातावरण स्वस्थ रहन्छ र भविष्यमा अनावश्यक विवाद वा दोषारोपणबाट बच्न सकिन्छ भन्ने अपेक्षा गर्न सकिन्छ।
यसका साथै, निर्वाचनको सन्दर्भमा मतदाता अधिकारबारे पनि केही महत्त्वपूर्ण प्रश्नहरू उठेका छन्। विशेषगरी, खुला पदबाहेक अन्य पदहरूमा मतदान गर्नै पर्ने अनिवार्यता छ वा छैन भन्ने विषयमा स्पष्टता आवश्यक देखिन्छ। यदि कुनै मतदातालाई कुनै पनि पदमा दुवै वा सोभन्दा बढी उम्मेदवारहरू उपयुक्त लागेनन् भने, उनीहरूले मतदान नगर्न पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।

यस विषयमा निर्वाचन संयोजकज्यूले स्पष्ट जानकारी गराउनु आवश्यक छ ताकि मतदाताहरूले आफ्नो मताधिकारको प्रयोग पूर्ण स्वतन्त्रता र विवेकका साथ गर्न सकून्।

लोकतान्त्रिक प्रक्रियामा मतदान नगर्ने अधिकार पनि एक महत्त्वपूर्ण पाटो हो, जसले मतदातालाई आफ्नो असन्तुष्टि व्यक्त गर्ने वा विकल्प नरहेको अवस्थामा मौन रहने अवसर प्रदान गर्छ। यसले निर्वाचन प्रक्रियालाई थप पारदर्शी र न्यायपूर्ण बनाउन मद्दत पुग्छ।

दिनेश थापा

पत्रकार ,टोकियो

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय