दशैंमा बुवाले किनिदिएको त्यो नयाँ कपडा अझै याद ताजा नै लाग्छ। त्यो कपडाको सुगन्ध कति राम्रो लाग्थ्यो! त्यो सुगन्धमा बुवाको पसिना भएर होला, अहिले त्यो कपडामा पाउने कुनै कनै ब्रान्ड वा महँगो कपडामा पाइँदैन।
कहिलेकाहीँको दशैंको कपडा त हामी नेपालीहरूको स्कुलको ड्रेस हुने गर्थ्यो, हामी त्यसमा पनि खुसी हुन सिकेका थियौँ। साना साना कुराहरूमा नै धेरै ठूलो खुसी त्यो बाल्यकालमा थियो। दशैंमा मामा घरको दक्षिणा अहिले हाम्रो लाखौँ तलबमा भन्दा धेरै खुसी त्यो बेला नै हुँदैन थियो। विशेषतः हामी नेपालीहरू, दुरुह आर्थिक अवस्थामा पनि हाम्रो संस्कार, सन्तुष्टि, धर्म एउटा बगँचाका फूल सरी सबै जात धर्मको बेग्लै पहिचान बोक्छौँ।
दशैं हाम्रो महान चाड हो। यो कुनै ठाउँ वा धरातल अनुसार फरक तरिकाबाट मनाइन्छ। टिका लगाउने, जमरा ग्रहण गर्ने र खानपान गर्ने चलन फरक-फरक हुन सक्छ। विजया दशमी हामी नेपालीहरूको विशेष चाड हो। यस चाडलाई हामी विजयी उत्सव र उमङ्गको रूपमा मनाउँदै आएका छौँ।
विजया दशमीको दिन दुर्गा भवानीले दानव शक्तिमाथि र भगवान रामले लंकाका राजा रावणमाथि विजय हासिल गरेको खुसियालीमा अश्विन महिनाको दशमी तिथिमा निधारमा रातो टिका र जमरा लगाउने गरिन्छ। मान्यजनबाट आशिर्वाद लिने, आफन्त नातागोतासँग भेटघाट गर्ने, नयाँ कपडा लगाउने, मिष्ठान्न भोजन गर्ने र आफ्नो खुसी साटासाट गर्ने चलन छ। यस चाडले हामीबीचको सम्बन्धलाई अझ बलियो बनाउँछ।
असत्यमाथि सत्यको विजय भएको रूपमा यो चाडलाई मनाइन्छ।
धर्मग्रन्थका अनुसार देवलोकमा महिषासुर दानवले भगवानहरूलाई धेरै दुःख दिएको थियो। दुर्गा देवीले दश दिनसम्म त्यो राक्षससँग लडेर अन्ततः विजय हासिल गरिन्। यसैको सम्झनामा दशैं मनाइन्छ।
घटस्थापना दशैंको पहिलो दिन हो, जसमा जमरा राखिन्छ। भाद्र महिनाको वर्षायाम सकिएर शरद ऋतुको आगमन हुन्छ। यो समय नयाँ अन्न भित्र्याउने र घरलाई सफा गर्ने समय मानिन्छ। सप्तमीमा फूलपाती भित्र्याइन्छ भने अष्टमी र नवमीलाई विशेष दिन मानिन्छ।
यो चाड कार्तिक मासको कृष्ण पक्षमा मनाइने तिहार पर्वसँग पनि जोडिएको छ। तिहारमा देवताहरूलाई पूजा गर्ने, आफन्तहरूलाई भेट्न जाने, र मिष्ठान्न खाने चलन छ। यो चाडले समाजमा पवित्रता, आनन्द, र उज्यालो फैलाउँछ।
त्रिलोचन पौडेल
पोखरा ५, कास्की, नेपाल
हाल -टोकियो, कात्सुशिका-कु, शिनकोइवा