सोलुखुम्बु: सोलुखुम्बु जिल्लाको सल्लेरी ५ स्थित थेक्छेन पेमा छोलिङ गोन्पामा सम्यक संवुद्ध भगवान शाक्यमुनी बुद्धको पवित्र अस्तुधातु स्थापना हुने भएको छ।
यही कात्तिक २८ गते बुधवार बिहान १०:३० बजे एक भव्य कार्यक्रमका बीच यो पवित्र अस्तुधातुको स्थापना गरिने आयोजकले जनाएका छन्।
परमपावन साङ्साङ टुल्कु रिन्पोछे र सेर्लो टुल्कु पेमा थार्चेन रिन्पोछेको विशेष उपस्थितिमा हुने यस कार्यक्रममा धार्मिक पूजा आजाका साथै अस्तुधातुको स्वागत गरिनेछ।
सल्लेरी बजारबाट नगरपालिकाको कार्यालय हुँदै गोन्पा परिसरसम्म अस्तुधातुलाई ल्याइनेछ।
गोन्पामा पुगेपछि परमपावन साङ्साङ रिन्पोछे तथा ट्रुल्कु पेमा थार्चेन रिन्पोछेले विशेष पूजा आजा गर्नेछन्। त्यसपछि अस्तुधातुलाई स्थापना गरी सर्वसाधारण भक्तजनहरूको लागि दर्शनको व्यवस्था मिलाइने आयोजकले बताएका छन्।
बुद्धको पवित्र अस्तुधातुलाई सदाको लागि गोन्पामा राखी श्रद्धालु भक्तजनहरूले दर्शन गर्न पाउने भएपछि यस क्षेत्रका बासिन्दामा खुसियाली छाएको छ। यस पवित्र कार्यक्रममा भाग लिन सबैलाई आयोजकले हार्दिक आह्वान गरेको छ।





