हिमालि सन्देश यो बर्षको एभरेष्ट ट्रायल रेस अन्तराष्ट्रिय म्याराथन दौड प्रतियोगिता आजदेखि सुरु भएको छ । दोलखाको पर्यटकीय नगरी जिरीबाट सुरु भएको म्याराथन दौड प्रतियोगिताको जिरी नगरपालिकाका मेयर टंक जिरेल र नेपाल पर्यटन विभागका अधिकृत नारायण भट्टराईले संयुक्त रुपमा उद्धघाटन गर्नुभयो । सातौं एभरेष्ट ट्रायल रेस म्याराथन दौड प्रतियोगितामा नेपाल सहित १३ राष्ट्रका ४१ जना धावकको सहभागिता रहेको छ । सहभागि मध्ये ९ जना महिला र ३२ जना पुरुष रहेका छन् । प्रतियोगितामा सबैभन्दा बढि स्पेनका १४ जना धावक सहभागि छन् भने बेलायतका ९, ईटालीका ४ तथा नेपाल, पोर्चुगल र आयरल्याण्डका २/२ जना धावक सहभागि छन् । यसैगरी, मेक्सिको, कोलम्विया, फ्रान्स, अमेरिका, क्यानडा, स्वीडेन, नर्वे र अर्जेन्टिनाका १/१ जना धावक पनि सहभागि छन् । नेपालको तर्फबाट सोलुखुम्वुको महाकुलुङ गाउँपालिका ५ का २६ वर्षीय सुमन कुलुङ र खुम्वु पासङल्होमु गाउँपालिका ९ की २९ वर्षीया छेची शेर्पा सहभागि छन् । शेर्पा ६ महिना अघि कञ्चनजंघादेखि चिनको सिमाना हिल्सा सम्मको १८ सय किलोमिटर दुरी ४५ दिनमा पुरा गर्दै दोस्रो हुन सफल धावक हुन् । यो दौडमा स्पेनका विश्व बिख्यात धावक लुईस अलबेट्रो पनि सहभागि छन् ।

धावकहरुले प्रथम सगरमाथा आरोही एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको पदमार्ग भएर एभरेष्ट म्याराथन दौड पुरा गर्नेछन् । जिरीवाट सुरु भएको प्रतियोगिता रामेछापको बाम्ति भण्डार, सोलखुम्बुको गोली, पिके डाँडा, नाम्चे, पाङ्बोचे हुँदै फोर्चे सम्म पुगी पुनः लुक्लाको त्याङ्बोचे आएर यही कार्तिक २९ गते सकिनेछ । प्रथम सगरमाथा आरोही हिलारी र शेर्पाको पदमार्गलाई अन्तराष्ट्रिय रुपमा चिनाई राख्न र यसलाई जिवित राख्नका लागि वर्षेनी म्याराथन दौड आयोजना गर्ने गरिएको आयोजक अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसनका प्रवन्ध निर्देशक कामी शेर्पाले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागि महिला र पुरुष धावकहरुको छुट्टा छुट्टै मुल्याँकन हुनेछ । एभरेष्ट ट्रायल रेस अन्तराष्ट्रिय म्यारथनको प्रथम हुनेले १ लाख ५० हजार, द्धितिय हुनेले १ लाख र तृतीय हुने ५० हजार नगद सहित मेडल र ट्रफी पाउनेछन् । एभरेष्ट म्याराथन दौड प्रतियोगिता सन् २०११ देखि सुरु भएको हो । प्रतियोगितामा सहभागि हुने धावकहरुको संख्यामा वर्षेनी वृद्धि हुँदै गएको छ ।

हेर्नुहोस् फोटो फिचर 

सोर्स: इ दोलखा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय