काठमाडौं: अझै पनि विश्वले लैङ्गिक समानतालाई प्राथमिकता दिन नसकेको भन्दै सगरमाथाको चुचुरोबाट सन्देश दिइने भएको छ । २०७५ जेठमा संखुवासभाकी दिकी शेर्पाले लैङ्गिक समानतालाई विश्वव्यापी बनाउन सर्वोच्च शिखरबाट सन्देश दिने तयारी गरेकी हुन् ।

‘लैङ्गिक समानतामा सकारात्मक सोच, सर्बोच्च शिखरबाट समावेशी समाजको उद्घोष’ भन्ने मुल नाराका साथ दिकीले सगरमाथा आरोहण गर्न लागेकी हुन् । समाजले महिलालाई दोस्रो दर्जाको नागरिककारुपमा हेर्ने परिपाटी बदाल्दै महिला पनि पुरुषसरह क्षमता देखाउन सक्छन् भन्ने देखाउन उनले सगरमाथा आरोहण गर्न लागेकी हुन् ।

‘पुरुषप्रधान सोच परिवर्तन गर्दै महिला सशक्तिकरण अभियानका सफल बनाउन गरमाथा आरोहण गर्न लागेकी हुँ’, शेर्पाले भनिन्, ‘यो आरोहणले पर्यटन क्षेत्रको विकाससँगै मुलुकको आर्थिक समृद्धिमा सहयोग पुर्या‍उने छ, लैङ्गिक समानतासहितको समावेशी राज्य निर्माणमा भूमिका खेल्नेछ ।’

पर्यटन र सहासिक पर्यटनको क्षेत्रमा महिलाहरुको सहभागिता बढाउँदै आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा आम महिलाहरुलाई अघि बढाउन प्रेरित गर्न आरोहण गर्न लागेको शेर्पाले जानकारी दिइन् । हालसम्म नेपालबाट २६ र विश्वबाट चार सय बढी महिलाले सगरमाथा आरोहण गरिसकेका छन् ।

नुम–४, संखुवासभामा जन्मिएकी दिकी २०७० देखि पर्यटन पथप्रदर्शकका रुपमा क्रियाशील छिन् । पर्वतीय प्रशिक्षण प्रतिष्ठान तथा नाथुम कलेजबाट गाइड तालिम लिएकी दिकीले पर्वतारोहणसम्बन्धी आधारभूत तथा एड्भान्स तालिम पनि लिएकी छिन् ।

शेर्पाले पहिलो पटक सन् २०१७ मा ६ हजार ४ सय मिटर भन्दा अग्लो मेरा पिक र ५ हजार ९ सय २५ मिटर अग्लो राम्दुङ पिकको आरोहण गरेकी छिन् । त्यसैगरी २०१७ मा संसारको आठौं अग्लो मनास्लु (८१६३ मिटर) समेत आरोहण गरिसकेकी शेर्पा जेठमा सगरमाथामा जाँदैछिन् ।
-annapurna post

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय