
टोकियो, जापान – किरात याक्थुङ चुम्लुङ, जापानले ताप्लेजुङ जिल्लाको मुक्कुमलुङ क्षेत्रमा भएको प्रहरी दमनको घोर भर्त्सना गरेको छ। संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै २०८१ माघ १२ गते मुक्कुमलुङ बचाउ अभियानका अभियान्ता र स्थानीय नागरिकहरूमाथि प्रहरी प्रशासनले गरेको दमन र गोली आक्रमणको कडा शब्दमा निन्दा गरेको हो।
विज्ञप्तिमा प्रहरी प्रशासनले गरेको संघातिक गोली आक्रमणबाट मुक्कुमलुङ बचाउ अभियानका योद्धाहरु गम्भीर घाइते भएको उल्लेख छ। चुम्लुङले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आक्रमणमा संलग्नहरुलाई तुरुन्त कडा भन्दा कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ।
संस्थाले यस घटनाको सम्पूर्ण जिम्मेवारी केवलकार निर्माण पक्षका व्यापारी चन्द्र ढकाल र सरकारले लिनुपर्ने ठहर गरेको छ। साथै घाइतेहरुको उपचार व्यापारी चन्द्र ढकाल र राज्यले बिना शर्त निशुल्क गर्नुपर्ने माग पनि विज्ञप्तिमा उल्लेख छ। थप अप्रिय घटना हुनबाट रोक्न सरकार र केवलकार निर्माण पक्षधरलाई जिम्मेवार हुन चुम्लुङले आग्रह गरेको छ।
मुक्कुमलुङ क्षेत्रमा प्रहरी दमन तत्काल रोक्न सम्बन्धित पक्षसँग किरात याक्थुङ चुम्लुङ जापानले जोडदार माग गरेको छ। याक्थुङ लिम्बुहरुको पवित्र साँस्कृतिक मुन्धुमीस्थल मुक्कुम्लुङ संरक्षणको लागि सम्पूर्ण याक्थुङ लिम्बुहरुलाई केवलकार खारेजिको पक्षमा उत्रिनु हुन संस्थाले हार्दिक अपिल गरेको छ।
किरात याक्थुङ चुम्लुङ, जापानका अध्यक्ष मन कुमार तुम्सा र महासचिव लाखध्वज मादेम्बा “सिसाम” द्वारा जारी गरिएको विज्ञप्तिमा मुक्कुमलुङको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।