सोलुखुम्बुको कोशिपारिको गाविस गुदेलमा भएको कृषि प्रर्दशनी मेला सम्पन्न भएको छ । प्रांगारिक खेतीको मूल आधार, आयआर्जन तथा स्वास्थ्यमा सुधार भन्ने नारा सहित गुदेल ४ स्थित गुदेल माविको प्रांगणमा मेला आयोजना गरिएको हो ।जि फाउण्डेशनको सहयोगमा भएको अन्नवाली, दलहनवाली, मसलाबाली, फलफूलवाली, तरकारीवाली, औधोगिकवाली, नगदेवाली अन्तरगतका ५० भन्दा बढि प्रजातीका कृषि उपजहरु प्रर्दशनीमा राखिएको थियो ।
मेलामा गुदेल सहित छेस्काम, बुङ र सोताङ गाविसका १३२ कृषकले ६९४ कृषि उपजको प्रर्तिस्प्रधि गराएका थिए ।  उत्कृष्ट उपजका सम्बन्धित कृषकलाई प्रोत्साहन स्वरुप नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।   यसैबीच  चेतनामूलक कृषि गीत तथा नृत्य प्रतियोगीतामा प्रगतीशील कृषि उत्पादक समूह गुदेल २ प्रथम भएको छ । त्यस्तै मिलिजुली कृषि समूह गुदेल ४ द्धितीय, मिर्मिरे कृषक समूह गुदेल ३ तृतीय भएको छ भने सिलिचोङ कृषक समूह गुदेल ५ ले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।
शिर्ष स्थान प्राप्त गरेका समूहलाई क्रमश २५ सय, २ हजार, १५ सय र एक हजार नगदको साथमा प्रमाणपत्र वितरण गरिएको छ । कृषि चेतना प्रवाह र प्रोत्साहनका लागी प्रतियोगीताको आयोजना गरिएको आयोजक नवज्योति यूवा क्लबका अध्यक्ष लाकुसंगम राईले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला कृषि विकास कार्यलयका प्राविधिक सहायक राजकिशोर यादवले दुर्गम भनिएको गाविसहरुमा पनि स्थानीयको कृषिकर्मको प्रसंशा गर्दै व्यवसायीक रुपमा अघि बढ्न आग्रह गर्नुभयो । उहाँले कोशिपारिका गाविसहरुमा जि फाउण्डेशनले गरेको सहयोग र स्थानीय संस्थाहरुले खेलेको भूमिका महत्वपुर्ण रहेकोमा जोड दिदै कृषिको विकासका लागि राज्यले दिने सुविधा र हेर्ने दृष्ट्रिकोणलाई अलि फराकिलो पार्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिको आसानवाट बोल्दै गुदेल माविका प्रध्यानाध्यापक लवकुमार राईले घरायसी प्रयोजनका लागि मात्रै नभई व्यवसायीक रुपमा कृषि कर्ममा उद्यत हुनुपर्ने बताउनुभयो । कार्यक्रममा गाविस स्तरका राजनितिक दलका नेताहरुले बोलेका थिए । उनीहरुले कोशिपारिका गाविसहरुमा कृषि कार्यलयको ध्यान कम पुगेकोमा गुनासो गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय