काठमाडौं । सरकारले बाढीपहिरोका कारण विद्युत् विच्छेद भएको मेलम्चीमा वैकल्पिक उपाए अपनाएर बिजुली पु¥याउन पहल थालेको जनाएको छ । पछिल्लो पटकको बाढीले इन्द्रावती–३ को हाइड्रो पावरको ६६ केभीको प्रसारण लाइनको टावरमा क्षति पुगेपछि त्यहाँ विद्युत् विच्छेद भएको थियो । गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारमा ठूलो क्षति पु¥याएको थियो । तीन ट्रान्समिसन लाइन बगाएको थियो ।
गत असारको क्षति मर्मत गरेको भए पनि यही साउन १६ गतेको बाढीले पुनः अर्को ठाउँमा दुई वटा टावर बगाएको थियो । मेलम्चीका जनता अँध्यारोमा बस्नुपरेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वैकल्पिक उपाय अपनाएर विद्युत् जोड्न निर्देशन दिनुभएको हो । विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने, बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीराम राज पाण्डे र ग्रीड सञ्चालन विभागका निर्देशक सचितानन्द यादवलाई आज मन्त्रालयमा छालफल सहित विद्युत् जोड्न निर्देशन दिनुभएको हो । मेलम्ची वितरण केन्द्रका प्रमुख माधव न्यौपानेका अनुसार मेलम्ची खोलाको करिडोरमा बाटो र पुल बगाएको छ । पहिलो बाढीमा ४१४ वटा पोल बगाएको थियो र शनिबारको बाढीले झण्डै ४० देखि ५० वटा पोल बगाएको छ । हाल मेलम्ची नगर र इन्द्रावती गापमा विद्युत् आपूर्ति गरिएको भए पनि पाँचपोखरी र हेलम्बुमा विजुली पु(याउन सकिएको छैन ।
छलफलमा साँखु–जरसिंहपौवा–मेलम्चीको ११ केभी, बनेपा सिपाघाट इन्द्रावती हुँदै मेलम्ची र नुवाकोटको समुन्द्रटार मेलम्ची जोड्ने उपाय सुझाउनुभएको थियो ।





