“प्रवासमा भाषा, धर्म, कला र संस्कृतिको संरक्षण, शेर्पा संघ जापानको मूल अभियान” भन्ने मूल नाराका साथ शेर्पा संघ जापानले हिमाली बौद्ध धर्मावलम्बीहरूको महान् चाड २१५३ औँ ग्याल्पो ल्होसार (मे फो ता लो) टोकियोमा भव्य रूपमा सम्पन्न गरेको छ।
संघका अध्यक्ष सोनाम लामाको सभापतित्व तथा नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष श्री गुरूङको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा स्माइल मोबाइल रेमिट्यान्सका मार्केटिङ म्यानेजर कर्मा सिंग घिसिङ, शेर्पा फरेस्टीका ग्यालु लामा, एनआरएनए जापानका अध्यक्ष सुवास लामिछाने, पूर्व अध्यक्ष नवीन न्युरे लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।

सांस्कृतिक तर्फ बेल्जियमबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकार सोनाम कोसिस शेर्पाको विशेष साङ्गीतिक प्रस्तुति मुख्य आकर्षण रहेको थियो भने स्थानीय कलाकारहरू दावा के शेर्पा, सोनाम कहानी शेर्पा र डिजे छेवाङ शेर्पाको प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो।
कार्यक्रममा छीमी शेर्पा, आङ छीमी शेर्पा लगायतको टोलीले मौलिक स्याब्रुक नृत्य प्रस्तुत गरेका थिए। सो अवसरमा संघलाई विभिन्न विधामा सहयोग गर्ने सहयोगी महानुभावहरू र कलाकारहरूलाई ताम्रपत्र, मायाको चिनो तथा प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो।
महासचिव ङवाङ डी. शेर्पा र कोषाध्यक्ष दाफुरी शेर्पाका अनुसार विद्यार्थीहरूलाई विशेष सहुलियत प्रदान गरिएको उक्त कार्यक्रममा जापानबासी नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो। सभाध्यक्षद्वारा औपचारिक कार्यक्रम समापन गरिएसँगै अनौपचारिक फ्री डान्स सेसनका साथ ल्होसार उत्सव उल्लासमय वातावरणमा टुङ्गिएको थियो।
औपचारिक रुपमा सम्पन्न कार्यक्रमको संचालन भने महासचिव ङवाङ डि शेर्पा र नेपालबाट आउनुभएकी शेर्पा संचार समुह नेपालका पुर्व अध्यक्ष फुर्किमा शेर्पाले गर्नुभएको थियो ।
यसैबीच शेर्पा संघ किताकान्तो क्षेत्रिय कमिटि जापानको आयोजनामामार्च ८ तारिखका दिन २१५३ औँ ग्याल्पो लोसारको पावन अवसरमा आयोजित भव्य शुभकामना आदान–प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ।गुन्मास्थित सासा छे एण्ड सेन्ट्रल बार, रेष्टुरेन्टमा जापानको स्थानीय अनुसार दिउँसो १२ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने जानकारी गराईएको छ ।
कार्यक्रममा शेर्पा समुदायका चर्चित राष्ट्रिय गायक सोनाम शेर्पा कोशिस, चर्चित डिजे छेवाङ शेर्पाको साथमा स्थानीय शेर्पा कलाकारहरु सोनाम कहानी, कर्मा दोङ तामाङ दावा के शेर्पाको विशेष सांगीतिक प्रस्तुति रहनेछ । कार्यक्रममा स्थानीय कलाकारहरूले पनि विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहने शेर्पा संघ जापानका अध्यक्ष दावा के शेर्पाले जानकारी दिएका छन् ।





