जापानमा हरेक वर्ष डिसेम्बर २२ तारिख, अर्थात् वर्षको सबैभन्दा छोटो दिन (Winter Solstice) मा ‘युजुयु’ नुहाउने विशेष परम्परा छ। यस दिन मानिसहरू नुहाउने तातो पानीमा ‘युजु’ (एक प्रकारको सुगन्धित जापानी कागती) राखेर शरीर भिजाउँछन्। यो जापानको एउटा निकै पुरानो र लोकप्रिय संस्कृति हो जसले जाडो महिनामा शरीर र मन दुवैलाई स्फूर्ति प्रदान गर्दछ।
युजुयुको महत्व
जापानमा ‘तोजी’ (हिउँदको सबैभन्दा छोटो दिन) मा युजुयु नुहाउनुको विशेष अर्थ छ। यसको मुख्य महत्व चिसो मौसममा शरीरलाई बलियो बनाउनु र रोग लाग्नबाट बचाउनु हो। युजुमा भिटामिन ‘सी’ प्रचुर मात्रामा हुने भएकोले यसले छालालाई नरम र स्वस्थ बनाउँछ। युजुको डकडा र मिठो बास्नाले शरीरको थकान मेटाउन, तनाव कम गर्न र मनलाई शान्त पार्न मद्दत गर्छ। साथै, पुरानो मान्यता अनुसार युजुको कडा बास्नाले नराम्रो शक्तिलाई भगाउँछ र नयाँ वर्षमा सुस्वास्थ्य र समृद्धि ल्याउँछ भन्ने विश्वास गरिन्छ।
तयार गर्ने तरिका
युजु बाथ तयार गर्ने विधि एकदमै सरल छ:
१. सबैभन्दा पहिले, बाथटबमा शरीरलाई आराम हुने गरी तातो पानी भर्नुहोस्।
२. त्यसपछि, सफा गरिएको सिंगो युजुका फलहरूलाई सिधै पानीमा तैराउनुहोस्।
३. यदि तपाईंलाई अझ कडा बास्ना मन पर्छ भने, युजुलाई बीचबाट काट्नुहोस् वा स-साना टुक्रा पारेर एउटा जालीदार कपडाको झोलामा राखेर पानीमा हाल्नुहोस्।
४. करिब १० देखि १५ मिनेटसम्म तातो पानीमा राखेपछि युजुको सुगन्ध पानीमा फैलिन्छ र यो नुहाउनका लागि तयार हुन्छ।
स्रोत -जापानी नागरिक तथा बिभिन्न अनलाइनहरुको सहयोगमा





