शेर्पा संघ जापानले सदाको बर्षझै यसबर्षपनि “प्रवासमा भाषा, धर्म, कला र संस्कृतिको संरक्षण, शेर्पा संघ जापानको मूल अभियान” भन्ने नाराकासाथ हिमाली बौद्ध धर्मावलम्बीहरूको महान चाड ग्याल्पो ल्होसार (ता लो-२१५३ औं) भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम मार्च १ तारिख आइतबार टोकियो हामामाचुच्यो स्थित मन्दिर रेष्टुरेन्टमा बिहान ११ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा शेर्पा समुदायका चर्चित हाल युरोपमा रहनुभएका गायक सोनाम शेर्पा कोशिस ,नेपालबाट चर्चित डिजे छेवाङ शेर्पाको साथमा स्थानिय शेर्पा कलाकारहरु सोनाम कहानी, दावा के शेर्पाको विशेष सांगीतिक प्रस्तुति रहनेछ। कार्यक्रममा स्थानीय कलाकारहरूले पनि विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहने शेर्पा संघ जापानका अध्यक्ष सोनाम लामाले जानकारी दिनुभएको छ ।
यसैबीच शेर्पा संघ जापान क्षेत्रिय कमिटि कान्साइले कोबेमा फेब्रुवरी २१ तारिख शनिबार साँझ जापानको समयअनुसार ७ बजेदेखि बिहान ६ बजेसम्म र शेर्पा संघ जापान क्षेत्रिय कमिटि किताकान्तोले मार्च ७ तारिख शनिबारको दिन गुन्मास्थित अटो बार तथा रेष्टुरेन्टमा जापानको समयअनुसार दिउँसो १२ बजेदेखि बेलुकी ८ बजेसम्म आयोजना हुने संघका महासचिव ङवाङ दोर्जी शेर्पाले जानकारी दिनुभएको छ ।
तिनवटै स्थानमा फरक फरक मिति समय र स्थानमा हुन लागिरहेको ग्याल्पो ल्होसार कार्यक्रममा शेर्पा जातिहरुको मौलिक पहिचान संस्कार संस्कृति तथा नृत्यहरु प्रस्तुत हुने भएकोले उपस्थितिको लागि आम जापानबासी शेर्पा तथा गैर शेर्पा महानुभावहरुलाइ शेर्पा संघ जापानले अनुरोध गरेको छ ।





